सुदूरपश्चिम विश्वविद्यालयको मुख्य सन्दर्भ सामाग्री बन्यो पूर्व मुख्यमन्त्री रावलको पुस्तक

  शुक्रबार ११, असोज २०८१ ०७:३१

महेन्द्रनगर । सुदूरपश्चिम विश्वविद्यालयको मानविकी तथा सामाजिकशास्त्र संकायले पूर्व मुख्यमन्त्री तथा साहित्यकार राजेन्द्र सिंह रावलद्धारा लिखित ‘डोटी राज्यको मध्यकालीन इतिहास’ (सक १२३५–१७१२) पुस्तकलाई मुख्य सन्दर्भ सामाग्रीको रुपमा समेटने निर्णय गरेको छ ।

स्नातक तहको चौथो सेमेस्टर र स्नातकोत्तर तहका विद्यार्थीले अब उक्त पुस्तकलाई सन्दर्भ सामाग्रीको रुपमा प्रयोग गर्न सक्ने छन् । मानविकी तथा सामाजिकशास्त्र संकायका डीन डा. मुकुन्द कलौनीका अनुसार स्नातक तहको चौथो सेमेस्टरमा ‘सुदूरपश्चिमको अध्ययन’ विषयका लागि उक्त पुस्तकलाई सन्दर्भ सामाग्रीको रुपमा राखिएको छ ।

यस्तै स्नातकोत्तरको ‘सुदूरपश्चिमको विकासका आयाम र चुनौती’ विषयको सन्दर्भ सामाग्रीको रुपमा पनि उक्त पुस्तकलाई समेटिएको हो । 
नेकपा (एमाले) का पोलिटब्युरो सदस्य समेत रहेका रावलको अंग्रेजी भाषामा लेखिएको ‘डोटी राज्यको मध्यकालीन इतिहास’ पुस्तक निक्कै चर्चित छ । त्यसको नेपाली भर्सन समेत प्रकाशनको तयारीमा रहेको उनले बताए । यो पुस्तक छिमेकी  भारतको उत्तराखण्डका इतिहासकार तथा संस्कृतिकर्मीका माझमा पनि लोकप्रिय छ । 

यस्तै रावलको ‘द इकोज पावर अफ प्यासन’ कविता संग्रह प्रकाशित भएको छ । उनले सयौंको संख्यामा बिभिन्न जर्नलहरुमा लेख प्रकाशित गराइसकेका छन् । केही कृति प्रकाशनको तयारीमा रहेको उनले जानकारी दिए । राजनीति र साहित्यमा समानान्तर ढंगले सक्रिय रावललाई २९ भदौँमा काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले अभिनन्दन गरेका थिए । सुदूरपश्चिम र कर्णालीको भाषा, साहित्य तथा इतिहासका क्षेत्रमा रावलले पु¥याएको योगदानको कदर गर्दै त्यसबेला अभिनन्दन गरिएको थियो ।

clock शुक्रबार ११, असोज २०८१ ०७:३१

प्रतिक्रिया