पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधन
रौतहट। नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधन भएको छ । उहाँको शनिवार बिहान २ः५८ बजे उपचारका क्रममा केएमसी अस्पताल सिनामंगलमा निधन भएको काठमाडौँ मेडिकल कलेज सिनामंगलका प्रमुख प्रशासकीय अधिकृत नारायण दाहालले जानकारी दिनुभयो । स्वास्थ्यमा समस्या आए पछि उहाँलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।
२०३४ सालमा राजनीतिक यात्रा सुरु गर्नु भएका पूर्व मन्त्री आलम तत्कालीन प्रधानमन्त्री माधव कुमार नेपाल नेतृत्वमा २०६६ जेठमा गठित सरकारमा श्रम तथा यातायात व्यवस्था मन्त्री हुनुहुन्थ्यो ।
राजनीतिक संघर्षका क्रममा उहाँले २०४६ सालको जनमत संग्रहमा ६ महिना, २०४६ को जनआन्दोलनमा तीन महिना र २०६२/६३ को जनआन्दोलन–२ का क्रममा पटक पटक जेल जीवन बिताउनुभएको थियो ।
पहिलो संविधानसभा निर्वाचनको पूर्व सन्ध्यामा रौतहटमा भएको बम विस्फोटमा घाइतेलाई जिउँदै इँटाभट्टामा हालेको आरोप लागेका पूर्वमन्त्री आलमलाई जिल्ला अदालत रौतहटले २०८१ वैशाख १४ गते जन्मकैदको फैसला सुनाएको थियो ।
घटनाको १२ वर्षपछि २०७६ असोजमा आलमलाई प्रहरीले पक्राउ गरेको थियो । २०८२ जेठ १४ गतेका दिन जिल्ला अदालत रौतहटको आदेशलाई उल्ट्याएर उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जले पूर्वमन्त्री आलमलाई सफाइ दिएको थियो । नख्खु कारागारबाट छुटे लगत्तै उहाँलाई ब्रेन स्ट्रोक भएको थियो ।
प्रतिक्रिया