सुदूरपश्चिम प्रदेश सभा सञ्चालनका लागि गृहकार्य
धनगढी । सुदूरपश्चिम प्रदेश सभाको बैठक सञ्चालनका लागि गृहकार्य थालिएको छ । जेनजी आन्दोलनका क्रममा प्रदेश सभा भवनमा आगजनीपछि अनिश्चित बनेको सभाको बैठक सकेसम्म चाँडै सञ्चालन गर्नका लागि गृहकार्य थालिएको सभामुख भीमबहादुर भण्डारीले बताए ।
प्रदेश सभाको मर्मतबिना बैठक बस्न सम्भव नरहेकाले मर्मत र उपकरण जडान गर्ने सवालमा विभिन्न सहयोगी निकायसँग छलफल भइरहेको उनले बताए । “युएनडिपी, युएनएफपिए जस्ता संस्थाले गर्न सक्ने सहयोगको बारेमा छलफल भइरहेको छ,” उनले भने, “प्रदेश सभा बैठक धेरै विलम्ब नगरी सञ्चालनका लागि प्रदेश सरकारसँग पनि म छलफल चलाउँछु ।”
जेनजी आन्दोलनकारीले भदौ २४ गते प्रदेश सभा भवनसहित प्रदेश सभा सचिवालय, विषयगत समितिका कार्यालय, संसदीय दलका कार्यालयमा आगजानी र तोडफोड गरेका थिए । आगजनी र तोडफोडका कारण दुई महिनादेखि प्रदेश सभा बैठक बस्न सकेको छैन ।
प्रदेश सभाको बर्खे अधिवेशन जारी रहेका बेला आगजनी भएकाले अधिवेशन अझै जारी छ । चाडपर्वको बिदाका कारण यो बिचमा प्रदेश सभा भवन मर्मतको कार्य हुन नसके पनि अब चाँडै मर्मतको काम सुरु गर्ने सभामुख भण्डारीको भनाइ छ ।
उनले सकेसम्म एक महिनाभित्रै काम सक्ने गरी मर्मत, उपकरण जडानको कार्य अगाडि बढाउने उल्लेख गर्दै थपे, “सम्भवतः एक महिनाभित्र प्रदेश सभा बैठक सञ्चालन हुन सक्छ ।”
आगजनीका कारण प्रदेश सभा भवनमा बस्ने ठाउँ नै छैन । कुर्सीसहित विभिन्न उपकरण जलेर नष्ट भएका छन् । बस्ने ठाउँ भएपछि मात्रै प्रदेश सभाको बैठक सञ्चालन हुने सामाजिक विकास समितिका सभापति धर्मराज पाठकले बताए ।
प्रदेश सभामा पाँच वटा विधेयक विचाराधीन अवस्थामा छन् । प्रदेश सभा सचिवालयका अनुसार सुदूरपश्चिम प्रदेश जीवनाशक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, दलित सशक्तीकरण ऐन, २०७८ लाई संशोधन गर्न बनेको विधेयक, सुदूरपश्चिम प्रदेश बरघर र भलमनसा प्रथा संरक्षण तथा विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक विचाराधीन अवस्थामा छन् ।
यस्तै टीकापुर विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र केही उद्योग तथा वनसम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक पनि विचाराधीन अवस्थामा छन् । विचाराधीन अवस्थामा रहेकामध्ये दफावार छलफलका लागि दुई वटा विधेयक आफ्नो समितिमा आउने सभापति पाठकले बताए ।
 
                     
                                 
                         
                                         
                                         
                                             
                                             
                                     
                                             
                                             
                                     
                                     
                                     
                                     
                                             
                         
                         
                         
                         
                         
                        
प्रतिक्रिया