आगलागी पीडितलाई सुदूरपश्चिम सरकारले ८ लाख सहयोग गर्ने

  बिहिबार २०, कार्तिक २०८२ १४:०६

कैलाली ।  अछाम जिल्लाको साँफेबगर नगरपालिका-३ हाटबजारमा  शनिबार राति  भएको आगलागीबाट पीडितलाई सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

बुधबार मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा मुख्यमन्त्री निवासमा बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले अछामका आगलागी पीडितका लागि तत्काल साँफेबगरमा  नगरपालिकालाई तत्काल ८ लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको हो । 

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले अछाममा आगलागीबाट पीडित भएका परिवार तथा व्यवसायीलाई ८ लाख रुपैयाँ सहयोग गर्ने निर्णय भएको बताए । उनले भने, शनिबार राति  साँफेबगरमा  बजारमा भएको आगलागीबाट क्षति पुगेको परिवार तथा व्यवसायीलाई मानवीय सहायता स्वरुप तत्कालका लागि ८ लाख रुपैयाँ पालिकामार्फत् उपलब्ध गराउने निर्णय भएको छ ।

सम्बन्धित पालिकाले स्पष्ट मापदण्ड तयार पारेर उक्त मानवीय सहायता रकम आगलागी पीडितलाई वितरण गर्ने छ ।

यस्तै बैठकले २०८२ साल भाद्र महिनामा दार्चुला जिल्लाको व्यास गाउँपालिका वडा नं १ स्थित टिङ्कर र छाङरु क्षेत्रमा आएको बाढी पहिरोबाट क्षतिग्रस्त भएका पुलहरूको तत्काल पुननिर्माणका लागि भौतिक पूर्वाधार विकास मन्त्रालयलाई सिफारिस गर्ने र कञ्चनपुर जिल्लाको लालझाडी गाउँपालिका, बेलौरी, शुक्लाफाँटा, बेदकोट, भीमदत्त र दोधरा चाँदनी नगरपालिकामा वन्यजन्तुको आक्रमण हुने मानवीय क्षति, मानव बस्तीमा आक्रमण र खेतबारीमा हुने बालीनाली नोक्सानी न्यूनीकरण गर्नका लागि रोकथाम उपायहरु अवलम्बन गर्न र टर्चलाइट र लगायतका सुरक्षा उपकरण स्थानीयस्तरमा वितरणका लागि आवश्यक प्रबन्ध गर्न उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई सिफारिस गर्ने निर्णय गरेको छ।

clock बिहिबार २०, कार्तिक २०८२ १४:०६

प्रतिक्रिया