रेशम-रञ्जिता मिलेपछि फुट्यो नागरिक उन्मुक्ति पार्टी

  शुक्रबार ११, असोज २०८१ ०७:०८

काठमाडौँ । संघीय र प्रदेश सरकारमा सहभागी हुने वा नहुने विषयदेखि सुरु भएको नागरिक उन्मुक्ति पार्टीका शीर्ष तहको विवाद टुंगिएसँगै पार्टी फुटेको छ । नेता रेशमलाल चौधरी र अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीबीच सँगै मिलेर जाने भद्र सहमति भएको मसी नसुक्दै पार्टी फुटेको हो ।

कैलालीको टीकापुरमा सम्पन्न पहिलो महाधिवेशनबाट उनीहरूको तिक्तता छरपस्ट भएको थियो ।रेशमलाल पहिलो महाधिवेशनबाट अध्यक्ष निर्वाचित भए पनि निर्वाचन आयोगले वैधानिकता नदिएपछि पार्टीभित्र पति–पत्नीबीच शक्ति संघर्ष चुलिएको थियो । त्यसपछि संघदेखि प्रदेशसम्म एक समूहले अर्को समूहलाई कारबाही गरेका थिए ।

पार्टी अध्यक्ष र पार्टी संरक्षकबीच तिक्तता र विवाद बढ्दै जाँदा पार्टी कमजोर भएको भन्दै फेरि दुवै मिलेर अगाडि बढ्ने सहमति भएको नेता रेशम चौधरीले बताए ।

उक्त महाधिवेशनका सदस्यहरूले वैधानिकताको माग गर्दै अदालतमा रिट दायर गरेका छन् । रेशम–रञ्जिताबीच अदालतमा मुद्दा जारी रहँदासम्म अध्यक्षको हैसियत रन्जिता श्रेष्ठले नै गर्ने समझदारी भएको छ ।

दुई जनाबीच समझदारी भए लगत्तै यसअघि कारबाही गरिएका दुई प्रदेश सभा सदस्यसहित पाँच जनाको कारबाही फुकुवा गरिएको छ । बागमती अध्यक्ष दीप तामाङ, गण्डकी अध्यक्ष राजन गुरुङ, केन्द्रीय सदस्य नवीन थापा, सुदूरपश्चिम संसदीय दलका नेता घनश्याम चौधरी र प्रदेश सभा सदस्य इन्दिरा गिरीको कारबाही फुकुवा भएको हो ।

रेशम निकट रहेको उनीहरू सबैलाई फरक फरक मितिमा रञ्जिताले नै कारबाही गरेकी थिइन् ।

असोज १८ र १९ गते काठमाडौँमा बस्ने बैठकमा पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई अनिवार्य उपस्थित हुन पत्राचार गरिएको छ । केन्द्रमा दुई नेताबीच भद्र सहमति भए लगतै प्रदेश प्रदेशका २६ नेताहरूले पार्टी नै परित्याग गरेका छन् ।

केन्द्रीय उपाध्यक्ष विजय कुमार यादवको नेतृत्वमा २६ जना नेताहरूले पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

उनीहरू पार्टीको केन्द्रीय नेतृत्वले पार्टीभित्रको विवाद मिलाउन नसकेको, मूल मुद्दाबाट विमुख भएकोलगायत आरोप लगाउँदै पार्टीबाट अलग भएको जनाएका छन् ।

उपाध्यक्ष यादव र केन्द्रीय सदस्य मोहम्मद तनवीर अख्तर मिकरानीले हस्ताक्षर गरेको विज्ञप्तिमा पार्टीभित्र देखा पर्न थालेको सांगठनिक एवं सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार गरेर भए पनि पार्टी बनाउने अठोटका साथ हिंडेका आफूहरूले पार्टीभित्रको गलत तत्वहरू नसुध्रिने छाँटकाँट देखेपछि यो अप्रिय निर्णय लिन बाध्य भएको उल्लेख गरेका छन् ।

राजेन्द्र महतोले भर्खरै गठन गरेको राष्ट्रिय मुक्ति क्रान्ति नेपालमा समाहित हुने उनीहरूले बताएका छन् । उपाध्यक्ष यादवले भने, ‘मधेस प्रदेशबाट प्रतिनिधित्व गर्ने दुई दर्जन बढी केन्द्रीय सदस्यहरू राष्ट्रिय मुक्ति क्रान्ति नेपालमा समाहित हुँदैछौं ।’

पार्टीका अध्यक्ष तथा शीर्ष तहमा विभिन्न जिम्मेवारीमा रहेका केन्द्रीय नेतृत्वले पार्टीलाई सही दिशा दिन नसकेको यादवको आरोप छ । ‘सैद्धान्तिक वैचारिक पथमा विचलन आइ पार्टीमा व्यक्तिवादी प्रवृत्ति हाबी भयो । नेतृत्वले पार्टीलाई प्राइभेट लिमिटेड आफ्नै विरासत सम्झिने गरे’, उनले भने ।

राष्ट्रिय मुक्ति क्रान्ति नेपालमा समाहित हुनेहरूमा यादवसँगै केन्द्रीय सदस्यहरू विरेन्द्र महतो (धनुषा), सुनिता कुमारी महतो (धनुषा), दिनेश यादव (धनुषा), विष्णुनारायण यादव (सिरहा), रामअशिष चौधरी (पर्सा), सरिता महतो चौधरी (पर्सा), पप्पुकुमार महतो (पर्सा), अफताब हवारी (पर्सा), अरुणकुमारी चौधरी (बारा), निराजन चौधरी (बारा), उर्मिला राणा (बारा), पप्पु कुमार बैठा (बारा) लगायत दुईदर्जन बढी केन्द्रीय नेताहरू छन् ।

बहुल राष्ट्रिय राज्य स्थापनासहित समृद्ध मधेश तथा समृद्ध देश निर्माणका लागि आफूहरूले आवश्यक छलफल गरि नयाँ हिसाबले अगाडि बढ्न राष्ट्रिय मुक्ति कान्ति नेपाल पार्टीमा समाहित भएको यादवको भनाइ छ ।

उनले भने, ‘अहिले यो पहिलो चरणमा हामी यति संख्यामा समाहित भएका छौं । अरु केन्द्रीय सदस्यहरू पनि हाम्रो सम्पर्क हुनुहुन्छ । छिट्टै अरु साथीहरूलाई पनि समाहित गर्छौं,’ यादवले भने ।

७ भदौ २०७२ मा टीकापुरमा भएको हिंसामा एक नाबालकसहित सात प्रहरीको हत्या भएको थियो । घटनाका मुख्य दोषी भएको ठहर गर्दै अदालतले रेशमलाई जन्मकैदको सजाय सुनाएको थियो । उनी राष्ट्रपतिबाट आममाफी पाएर जेलमुक्त भएका छन् ।

कारागारमा हुँदा स्थापना गरिएको पार्टीले प्रतिनिधिसभामा चार सिट जितेको छ भने सुदूरपश्चिममा ७, लुम्बिनीमा ४ र मधेश प्रदेशसभा एक सांसद छन् ।

clock शुक्रबार ११, असोज २०८१ ०७:०८

प्रतिक्रिया