कांग्रेसका दर्जन सांसदले मागे गृहमन्त्री लामिछानेको राजीनामा

  शुक्रबार ०२, चैत २०८० १३:५८

काठमाडौं । प्रतिनिधि सभामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग भएको छ । सहकारी ठगी प्रकरणमा अनुसन्धानको दायरामा रहेको व्यक्ति गृहमन्त्री हुन नहुने भन्दै सांसदहरूले राजीनामा मागेका हुन् । प्रतिनिधि सभाको शुक्रबार बसेको बैठकमा बोल्दै कांग्रेसका करिब एक दर्जन सांसदले लामिछानेको राजीनामा मागेका हुन् ।

कांग्रेस सांसद जीवन परियारले सहकारी ठगीविरुद्ध गृहमन्त्री लामिछानेविरुद्ध नै जाहेरी परेको भन्दै अनुसन्धान निष्पक्ष कसरी हुन्छ भन्दै प्रश्न उठाए । ‘गृहमन्त्रीको नाममा कास्कीमा (२०८० माघ २२ गते) २५ जनाको जाहेरी परेको छ । जाहेरीको कसुर नम्बर १ मा गृहमन्त्रीको नाम छ । दिपेश पुनसहितविरुद्ध फौजदारी अभियोग छ’ उनले भने, ‘के उक्त जाहेरीको छानबिन गृह प्रशासनले निष्पक्ष गर्ला ? आम नेपाली जनताले प्रश्न गरेका छन् ।’ 

बैठकमा सांसद प्रदीप पौडेल, राजेन्द्र केसीलगायत अधिकांश सांसदले विवादित व्यक्ति गृहमन्त्री पदमा बस्न नमिल्ने बताए । अनुसन्धानको घेरामा रहेको व्यक्ति सरकारको प्रमुख पदमा हुँदा सहकारी पीडितको माग कसरी पूरा हुन्छ ? भन्दै उनीहरूले प्रश्न उठाएका हुन् । ‘पीडितहरूले आन्दोलनबाट गर्ने अस्तव्यस्ततालाई सरकारले कसरी थेग्न सक्छ ? गृहमन्त्रीलाई आग्रह गर्न चाहन्छु । उच्च नैतिकताको आधारमा राजीनामा दिएर उदाहरण प्रस्तुत गर्नस्,’ पौडेलले भने, ‘प्रधानमन्त्रीले पटकपटक सुशासन भन्नुहुन्छ । विगतको गठबन्धन तोड्दा पनि कांग्रेसको कारण सुशासन लागू गर्न नसकेको आरोप लगाउनुभयो । जोमाथि अनुसन्धान चलिरहेको छ उसैलाई अनुसन्धानको तालाचाबी दिएर सुशासन हुन सक्छ रु’

त्यस्तै अर्का सांसद राजेन्द्र केसीले पनि सहकारीको पैसाले गाडी चढ्न लामिछाने अनुसन्धान नसकिँदासम्म गृहमन्त्री बन्न नहुने बताएका छन् । ‘सदस्यले मात्रै ऋण लिन पाउँछन् । गरिब निमुखा, मजदुर र किसानको निम्ति सहकारी हो । तर रविजीले ४६ लाखको गाडी चढ्नु भएको रहेछ । यसमा गम्भीर आशंका छ । पीडकले पीडितको समस्या समधान गर्न सक्छ रु तपाईं पीडक हो,’ उनले भने, ‘यसैले अनुसन्धान नहुँदासम्म तपाईं विश्राम लिएर बस्नुस् । ठीक भएपछि आउनुहोला । अहिले तपाईंलाई गृहमन्त्री बन्न मिल्दैन ।’

सहकारी पीडितबाट देशैभरबाट काठमाडौं आएर सांसद छन् । सांसद कुसुमदेवी थापाले सहकारी ठगीमा अनुसन्धानको दायरामा आएकालाई गृहको जिम्मेवारी दिनुले गम्भीर शंका उत्पन्न भएको बताइन् । ‘सहकारी पीडितहरू बचत फिर्ताको लागि आन्दोलनमा छन् । तर सहकारीमा केही ठगले रकम अपचलन गरेका छन्’ उनले भनिन्, ‘जुन व्यक्ति अनुसन्धनको दायरामा हुनुहुन्छ त्यही व्यक्तिलाई गृहको बागडोर दिँदा अनुसन्धान नै प्रभावित हुने गम्भीर अवस्था आएको छ ।’ 

सांसद कान्तिका सेजुवालले पनि प्रधानमन्त्रीले विवादितलाई गृहमन्त्री बनाउनु गम्भीर रहेको बताइन् । ‘नेपालका स्वार्थका द्वन्द्व रोक्ने कानुन भएन । नभए अब निर्माण गरौं । स्वार्थको द्वन्द्व आफैंमा अनुचित कार्य हो’ उनले भनिन्, ‘तर हाम्रा प्रधानमन्त्रीले त्यसको धज्जी उठाउनुभयो । सहकारी ठगी आरोपित जसमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ । यी व्यक्तिको हातमा सुशासनको भण्डार जिम्मा लगाउनुभएको छ । संसारमा राजनीतिमाथि यो भन्दा ठूलो मजाक के हुन सक्छ ?’

clock शुक्रबार ०२, चैत २०८० १३:५८

प्रतिक्रिया