सुदूरपश्चिमका बेलबहादुर मन्त्री नियुक्त भएको हल्ला सामाजिक सञ्जाल भाइरल

  आइतबार २०, फागुन २०८० १५:१८

धनगढी । शनिबार राति ९ बजेतिर सुदूरपश्चिम प्रदेश सभा सदस्य बेलबहादुर राना मन्त्री नियुक्त भएको भन्दै बधाईको हल्ला फैलियो।

रातभर बेलबहादुर मन्त्री भएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा बधाई दिनेहरूको ओइरो नै लाग्यो। उनका आफन्त र कार्यकर्ताहरुबीच बधाई दिन प्रतिस्पर्धा चल्यो।
बर्खाको भेलजस्तै बेलबहादुरलाई बधाईको खहरे खोला नै उर्लियो। भन्नेहरुले त उनको गाउँमा खसी नै ढालिएको पनि भनेका छन्।

तर, उनलाई बधाई दिने पहिलो व्यक्ति थिए, गगनसिंह ठकुरी। उनले आफ्नो सामाजिक संजाल फेसबुकमा भौतिक पूर्वाधार राज्यमन्त्री नियुक्त भएको भन्दै बधाई र सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।

कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ ९ख० बाट निर्वाचित नेपाली कांग्रेसका प्रदेश सभा सदस्य बेलबहादुर यतिबेलासम्म उनका सबै कार्यकर्ताले बधाई दिन भ्याइसकेका छन्।

यस बिषयमा महेन्द्रनगरपोष्टले बेलबहादुरलाई सम्पर्क गरेर बुझ्दा पनि आफू काठमाडौं रहेको र पर्सीसम्ममा सपथ हुने जानकारी दिएका थिए।

यता सुदूरपश्चिम सरकारका मुख्यमन्त्री कमलबहादुर शाह भने उनलाई आएको मन्त्रीको बधाई बारे बेखबर छन्। मुख्यमन्त्री शाहले यसबारे कुनै जानकारी नै नआएको बताए। ‘मैले पनि सामाजिक सञ्जालमा देखे तर त्यसको कुनै तयारी छैन’ मुख्यमन्त्री शाहले भने । 

उनले अहिले प्रदेश सरकार विस्तारको कुनै तयारी नरहेको प्रस्ट पारे। सुदूरपश्चिम प्रदेश सरकारमा भौतिक मन्त्री काङ्ग्रेसकै प्रकाश देउवा छन्।

सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली काँग्रेसको नेतृत्वमा नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र नेकपा एकीकृत समाजवादीको सरकार छ।

clock आइतबार २०, फागुन २०८० १५:१८

प्रतिक्रिया