प्रधानमन्त्रीको भारत भ्रमणबाट १५ वटा राँगा ल्याउने बाहेक कुनै प्रगति भएन : ओली

  सोमबार २२, जेठ २०८० १८:१७

काठमाडौँ । नेकपा(एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण फितलो भएको बताएका छन् । सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले प्रधानमन्त्री दाहालले भारत भ्रमणका क्रममा फितलो प्रदर्शन गरेको बताएका हुन् । 

उनले प्रधानमन्त्री भ्रमणका क्रममा नेपालको शिर ठाडो पार्ने गरी गौरवपूर्ण ढंगले प्रस्तुत हुन नसकेको बताए । ओलीले भ्रमणका क्रममा प्रोटोकल पनि नमिलेको उल्लेख गर्दै आफ्नो स्वकीय सचिवका रूपमा छोरीलाई छेउमा राखेको भए पनि परराष्ट्रमन्त्री, सचिव र चीफ अफ प्रोटोकल नजिक नहुनु गलत भएको बताए । 

‘विवादको विषय प्रधानमन्त्रीज्यू यहाँले भारत गएर जस्तो फितलो प्रदर्शन गर्नुभयो नेपालको शिर ठडिने गरी गौरवपूर्ण ढंगले प्रधानमन्त्रीज्यू प्रस्तुत हुन सक्नुभएन । नेपालको मर्यादा वास्तवमा भन्ने हो भने मलाइ भन्न मन थिएन, छैन तर प्रोटोकल पनि भएन । तरिकाहरू पनि मिलेन ।’

अध्यक्ष ओलीले प्रधानमन्त्रीको भारत भ्रमणमा कुनै उपलब्धि नभएको बताए । उनले १५ ओटा राँगा ल्याउने बाहेक कुनै प्रगति नभएको टिप्पणी गरे । उनले भने, ‘अब फूर्तिफार्ति प्रधानमन्त्रीज्यूको हेर्दा खेरी सारा जितेर फर्किँदै गरेको सिकन्दर जस्तो । सब फाँडेर फर्किएको चङ्गेश खाँ जस्तो । विजयी । अचम्म लाग्यो । साँच्चै ल्याएको चाहिँ के भने १५ वटा राँगा । अरू कुरा त प्रधानमन्त्रीज्यू प्रमाणित गर्नुपर्छ यो ल्याएँ भनेर । ल्याएको चाहिँ १५ वटा राँगा नै हो । चढेर आए पनि डोहोर्याएर ल्याए पनि ।’

अध्यक्ष ओलीले नागरिकता सम्बन्धी विधेयक संसदमा पुनः ल्याउनुपर्ने बताए । उनले सो विधेयकको सम्बन्धमा संसदमा छलफल गर्न पाउनुपर्ने बताए । संसदमा नयाँ सदस्यहरू आएको भन्दै उनले विधेयकको सम्बन्धमा संसदमा छलफल आवश्यक रहेको बताए ।

उनले भने, ‘यो विधेयकलाई ल्याउनुपर्छ पार्लियामेन्टमा । फेरि ल्याउनुपर्छ । जसो गरेर पनि पार्लियामेन्टमा ल्याउनुपर्छ । पार्लियामेन्टले छलफल गर्न पाउनुपर्छ र’उनले प्रधानमन्त्रीको भारत भ्रमणले राष्ट्रिय स्वाभिमानमा धक्का पुगेको र सरकारमाथि सन्देह पैदा भएको बताए ।  

clock सोमबार २२, जेठ २०८० १८:१७

प्रतिक्रिया