सुदूरपश्चिम प्रदेश सभाको बैठक पुस पहिलो साता बस्ने

  मङ्गलबार ०१, पुष २०८२ ११:०३

धनगढी । भौतिक संरचनामा भएको क्षतिका कारण झन्डै तीन महिनादेखि अन्योल सुदूरपश्चिम प्रदेश सभाको बैठक पुस पहिलो साता बस्ने भएको छ । सभा हल मर्मतको कार्य केही दिनभित्रै पूरा गरेर पुस पहिलो सातामै प्रदेश सभाको बैठक बसाउने तयारी गर्न लागिएको हो । 

सभा हल मर्मतको कार्य तीन÷चार दिनभित्रै सकिने सभामुख भीमबहादुर भण्डारीले जानकारी दिए । उनले मर्मत कार्य सकेर छरसात दिनभित्रै प्रदेश सभाको बैठक बसाउने तयारी रहेको उल्लेख गरे ।  

सभामुख भण्डारीले भने, “मर्मतको कार्य पूरा गर्न धेरै दिन लाग्दैन । छ÷सात गते नै बैठक बस्ने तयारी छ ।” 

जेनजी आन्दोलनकारीले भदौ २४ गते प्रदेश सभा भवन, सचिवालय, विषयगत समितिका कार्यालय र राजनीतिक दलका संसदीय दलको कार्यालयमा आगजनी र तोडफोड गरेका थिए । आगजनी र तोडफोडले भएको क्षतिका कारण प्रदेश सभा बैठक सञ्चालन गर्न सकिएको छैन । त्यसअगाडि भदौ ५ गते सभाको बैठक बसेको थियो । 

प्रदेश सभा सचिवालयका अनुसार प्रदेश सभा भवनको पहिलो चरणमा सहरी विकास तथा भवन डिभिजन कार्यालयमार्फत मर्मत कार्य भएको थियो । मर्मतमा १० लाख रुपियाँभन्दा बढी खर्च गर्न नमिलेका कारण आधाभन्दा बढी काम बाँकी रहेको थियो । 

सङ्घीय सरकारले विशेष परिस्थितिमा भएको भौतिक क्षति निर्माण गर्न ठेक्का दिन सकिने व्यवस्था गरेपछि दोस्रो चरणको मर्मतको काम भइरहेको छ । दार्चुलाको जगदम्बा निर्माण सेवाले ठेक्का पाएर मर्मतको काम गरिरहेको प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले बताए । माथि सिलिङको काम पहिल्यै भइसकेको जानकारी दिँदै उनले भने, “अब वायरिङ, प्यानेल गर्ने र झ्यालको फुटेका सिसा फेर्ने काम भइरहेको छ । यो काम चाँडै सकिन्छ ।”

विशेष परिस्थितिमा क्षति भएको संरचना पुनर्निर्माण गर्न सङ्घीय सरकारले नै ठेक्का आह्वान गरेको थियो । सुदूरपश्चिम प्रदेश सभा भवन पुनर्निर्माण गर्न २० लाख रुपियाँ बजेट रहेकोमा निर्माण कम्पनीले १३ लाख १८ हजार रुपियाँमा ठेक्का पाएर काम गरिरहेको सचिव बोगटीले बताउनुभयो । 

प्रदेश सभामा अहिलेसम्म सभा भवनको मात्रै मर्मत गरिँदै छ । सचिवालय, विषयगत समितिका कार्यालयहरू, संसदीय दलका कार्यालयहरू मर्मत अझै बाँकी रहेको छ । बाँकी कार्यालयको मर्मतका लागि करिब ८० लाख रुपियाँ बजेट खर्च हुने स्टिमेट गरिएको छ । जसमध्ये आधाभन्दा बढी बजेट बाहिरबाट व्यवस्था भइसकेको सभामुख भण्डारीले बताए । 

clock मङ्गलबार ०१, पुष २०८२ ११:०३

प्रतिक्रिया