बैतडीमा पचासी प्रतिशत घरधुरीमा खानेपानी

  बिहिबार ०३, पुष २०८२ ०९:०७

बैतडी ।  बैतडीका ८५ प्रतिशत घरधुरीमा आधारभूत खानेपानीको पुगेको छ । खानेपानीको पहुँच पुग्न बाँकी १५ प्रतिशत घरधुरीमा पानी पु¥याउन १९२ वटा खानेपानीका क्रमागत योजना सञ्चालनमा रहेका छन् ।  जिल्लाका १० स्थानीय तह र ८४ वडामा ४९ हजार घरधुरी छन् । 

खानेपानीको पहुँचबाट टाढा रहेका घरपरिवाका लागि जिल्लामा चालु आर्थिक वर्षमा १२ वटा लिफ्टिङ प्रविधि गरी १९२ वटा खानेपानीका योजना निर्माणाधीन अवस्थामा रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बैतडीका प्रमुख इन्जिनियर कृष्णबहादुर बोगटीले बताए । 

उनले भने, “जिल्लाका ८५ प्रतिशत घरधुरीमा आधारभूत खानेपानीको पहुँच पुगेको छ । खानेपानीको पहुँच पुग्न बाँकी घरधुरीमा पानी पु¥याउन यो वर्ष ३२ करोड ३८ लाख रुपियाँ बजेट रहेको छ ।” 

सुक्यो अट्ठाइस लाखको खानेपानी 

खानेपानीको मुहानमाथि डोजरले सडक खन्दा २८ लाख रुपियाँको लागतमा निर्माण भएको सतबाँझ लिफ्ट खानेपानीको मुहान सुकेपपछि सतबाँझ बजार र आसपासका क्षेत्रमा पानीको समस्या भएको छ ।

सडक डिभिजन कार्यालयले सताबाँझ–बैतडी जोड्ने दशरथचन्द लोकमार्ग चौडा पार्दा ‘ह्वाबी इक्विपमेन्ट’ डोजर चलाएर जमिन थर्किंदा दुई सय मिटर तल चौपातामा रहेको पानी सुकेको स्थानीय उपभोक्ता देवबहादुर चन्दले बताए ।

 उपभोक्ताले सडकमुनि खानेपानीको मुहान रहेकाले ठुला उपकरण प्रयोग नगर्न आग्रह गरे पनि कुनै सुनुवाइ नहुँदा पानीको मुहान सुकेको उनले गुनासो पोखे । समुद्री सतहबाट दुई हजार मिटर अग्लो स्थानमा रहेको सतबाँझ बजार क्षेत्रमा पानी आपूर्ति गर्न आठ वर्षअघि २८ लाख रुपियाँ खर्च गरेर लिफ्ट खानेपानी सञ्चालनमा आएको थियो ।

नियमित सञ्चालनमा रहेको खानेपानीको मुहान सडककै कारण मुहानमा क्षति पुगेको उपभोक्ताको गुनासो छ । मुहानमाथिबाट सडक खन्दा पानीको धार परिवर्नन भएर दुई सय मिटर तल छिरेको उपभोक्ताले बताएका छन् । मुहान सुकेर पानीको हाहाकार भएपछि उपभोक्ताले अहिले कटनोलीखोलाबाट सानो विद्युतीय मोटर जोडेर २० एमएमको पाइपबाट अस्थायी व्यवस्था गरेका छन् । 

खानेपानीको दीर्घकालीन समाधानका लागि कटनोलीखोलाबाट दुई सय मिटर जिआइपाइप जडान गरेर १२ हर्स पावरको मोटर आवश्यक भएको उपभोक्ता देवबहादुर चन्दले बताए । खानेपानीको समस्या लिएर स्थानीय तह र  प्रदेश सरकारसम्म धाए पनि कुनै सुनुवाइ नभएको उनले बताए । 

clock बिहिबार ०३, पुष २०८२ ०९:०७

प्रतिक्रिया