बाजुराका नरेश एमालेको केन्द्रीय सदस्यमा सर्वसम्मत

  मङ्गलबार ०१, पुष २०८२ ०९:५२

धनगढी । नेकपा (एमाले) को ११औँ महाधिवेशनबाट सर्वसम्मत केन्द्रीय सदस्य चयन भएका अखिलको पूर्वमहासचिव नरेश रोकायले न्याय मिलेको बताएका छन् । उनी खुल्ला ४० मुनिका युवाबाट सर्वसम्मत बनेका हुन् ।

अन्तिम नामावली सार्वजनिक भएसँगै उनले भने, ‘अखिलमा उमेरहद लगाएर किनारमा पारिएपछि धेरै शुभेच्छुक निराश भएका थिए । योपटक मलाई साथीहरूले यत्तिको मान्छे पार्टीमा चाहिन्छ भनेर सर्वसम्मत गराए ।’

उनले आफ्नो काँधमा जिम्मेवारी आएको र त्यसलाई सही ढंगले निर्वाह गर्ने बताए । बाजुराको गौमुल गाउँपालिका– ३ मा जन्मिएका रोकाय पृथ्वीनारायण क्याम्पस पोखराबाट २०६१ सालदेखि होलटाइमर राजनीतिको सुरुवात गरेका थिए ।

१३ वर्षको उमेरमा २०५६ सालमा बालविकास माविमा अनेरास्ववियु प्रारम्भिक कमिटीको सचिवमा संगठित भएका उनी २०६० सालमा अनेरास्ववियु बाजुरा जिल्ला सदस्य र २०६२ सालमा पृथ्वीनारायण क्याम्पस पोखरामा स्ववियु सदस्य बनेका थिए ।

२०६७ र २०७० मा सालमा अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य बनेका थिए भने २०७२ सालमा केन्द्रीय सचिवालय सदस्य भएका थिए ।

उनी २०७५ सालमा केन्द्रीय स्थायी कमिटी सदस्य, २०७८ सालमा केन्द्रीय कमिटी उपमहासचिव, २०७९ सालमा केन्द्रीय कमिटी महासचिव बनेका उनी २०८२ जेठमा उमेरहदले बाहिरिएका थिए ।

clock मङ्गलबार ०१, पुष २०८२ ०९:५२

प्रतिक्रिया