कैलालीका दुईजना डिभिजनल वन अधिकृत सम्पर्कविहीन, कार्यालयका सिल–टाँचा समेत गायव

  बिहिबार ०३, पुष २०८२ ०९:४०

धनगढी । कैलालीका दुईजना डिभिजनल वन अधिकृत (उपसचिव) लाई वन निर्देशनालयले स्पष्टीकरण सोधेको छ । उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले २४ घण्टाभित्र वन निर्देशनालयमा हाजिर हुन निर्देशन दिएपछि २६ गते बिहान ९:४५ बजे सेतो कागजमा हाजिर गरेर सम्पर्कविहीन भएका उपसचिव कृष्णदत्त भट्ट र रामचन्द्र कँडेल लाई वन निर्देशनालयले स्पष्टीकरण सोधेको हो। 

प्रदेश सरकारको जिम्मेदार पदाधिकारीले यतिका दिनसम्म बिना कुनै जानकारी आफू खटिएको निकायमा अनुपस्थित हुनुको कारण के हो रु आफ्नै हिसाबले कार्यालय समय पूर्व नै सेतो कागजमा हाजिर जनाई सम्पर्कविहीन किन रहनुभएको हो रु स्पष्टीकरणमा सोधिएको छ । 

यसबारे प्रदेश वन निर्देशक हेमराज बिष्टले हाजिर रजिस्टरमा समेत हाजिर नगरी कार्यालय समय अगाबै सेतो सादा कागजमा हाजिर गरेर हालसम्म सम्पर्कमा नआएपछि स्पष्टीकरण सोधिएको बताए । यसैबीच सम्पर्कविहीन भएका उपसचिव कृष्णदत्त भट्टले अहिलेसम्म डिभिजन कार्यालय कैलालीबाट गइसक्दा पनि कार्यालयको सिल टाँचा मोबाइल लगायत सरसमान नबुझाएको पाइएको छ । 

कार्यालय निवासको चाबी समेत नदिएपछि अहिले कार्यरत डिभिजनल वन अधिकृत रामविचारी ठाकुर होटलमा बसिरहेको बुझिएको छ। उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव दीर्घनारायण कोइरालाले उपसचिव कृष्णदत्त भट्टलाई पत्र लेख्दै कार्यालयका सामान तत्काल बुझाउन निर्देशन दिएका छन् । 

डिभिजन वन कार्यालय कैलालीका डिभिजनल वन अधिकृत रामचरी ठाकुरले कार्यालयको टाँचा शिल मोबाइल र निवासको साँचो नहुँदा कामकाजमा समस्या भएको बताए । उनले यसबारे मन्त्रालय लाई जानकारी गराए पनि अहिलेसम्म प्राप्त नभएको बताए। कार्यालयका महत्वपूर्ण सामान प्राप्त नहुँदा कामकाजमा समस्या भएको पनि उनले बताए । हाल निवासको साँचो नपाएपछि आफू होटेलमा बसिरहेको उनले बताए । 

डिभिजनल वन अधिकृत भट्ट यसअघि डिभिजन वन कार्यालय कैलालीमा कार्यरत थिए भने कँडेल पहलमानपुरमा कार्यरत थिए। सरकारको नीति निर्देशन विपरीत काम गरेको भन्दै दुवै जनालाई कारबाही स्वरूप मन्त्रालयले वननिर्देशनालयमा तानेको हो। पछिल्लो समय वन मन्त्रालय मातहतका कर्मचारीहरूले मनोमानी रुपमा काम गर्ने गरेको गुनासो बढेको छ। यसरी पटकपटक आर्थिक लेनदेनमा मुछिएका र काम नगर्ने कर्मचारीलाई कारबाही गर्ने तयारी मन्त्रालयले गरेको छ ।

clock बिहिबार ०३, पुष २०८२ ०९:४०

प्रतिक्रिया