भुवो पर्वका अवसरमा सुदूरपश्चिममा सार्वजनिक बिदा
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले पुस ४ गते प्रदेशभरि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । भुवो पर्वका अवसर पारेर प्रदेश सरकारले शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । यो पर्व पहाडका विभिन्न जिल्लासहित तराईमा पनि मनाइने गरिएको छ ।
विशेष गरेर बाजुरा, बझाङबाट बसाइँ सरेर तराई झरेकाले कैलाली, कञ्चनपुरमा यो पर्व मनाउने गरेका छन् । यस पर्वका अवसरमा प्रदेशभरका सरकारी तथा सार्वजनिक निकायमा बिदा दिइएको प्रदेश सरकारको राजपत्रमा उल्लेख छ ।
पुस महिनाको औँसीबाट भुवो पर्व सुरु हुने गरेको बताइएको छ । पिठोको टीका लगाएर खेल सुरु गरिने हुनाले भुवोको सुरुवातलाई ‘पिठाया’ भन्ने चलन रहेको छ । विभिन्न गाउँ गाउँमा गएर पिठाया लगाउँदै गाउँ गाउँमा भुवो नाच देखाउने चलन रहेको जनाइएको छ ।
द्वापर युगमा पाँच पाण्डवले कौरवमाथि विजयी हासिल गरेपछि निकालिएको विजयी जुलुसमा तरबार र ढाल नचाउँदै खुसियाली मनाइएको र त्यसैको सम्झनामा भुवो खेल खेल्ने चलन भएको बताइएको छ । यसैबिच बाजुरेली सेवा समाजले धनगढीमा भुवो पर्व महोत्सव आयोजना गर्ने भएको छ ।
प्रतिक्रिया