टनकपुर ब्यारेजबाट नेपालतर्फ पानी छाड्न भारतसँग समन्वय भइरहेको छ : मन्त्री घिसिङ

  बुधबार ०२, पुष २०८२ १०:००

कञ्चनपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले कञ्चनपुरको टनकपुर ब्यारेजबाट नेपालतर्फको नहरमा पानी छोड्न भारतसँग समन्वय भइरहेको बताएका छन् ।

राष्ट्रिय गौरबको महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत कञ्चनपुरको ब्रह्देवस्थित टनकपुर व्यारेजको बुधबार बिहान निरीक्षण गर्दै मन्त्री घिसिङले पानी छोड्ने विषयमा भारतीय पक्षसँग दुई देशका संयन्त्र एवम् द्विपक्षीय भेटमा निरन्तर छलफल गरिनुका साथै पत्राचारसमेत भइरहेको उल्लेख गरे ।

कञ्चनपुरका सुख्खाग्रस्त करिब पाँच हजार हेक्टर जमिनमा तत्काल सिँचाइ सुविधा उपलब्ध गराउन नेपालतर्फ मुख्य नहर र शाखा तथा प्रशाखा नहर बनिसकेकाले भारततर्फबाट पानी छोड्ने निर्णय आउने मन्त्री घिसिङले विश्वास व्यक्त गरे ।

नेपाल—भारतबीच एकीकृत महाकाली सन्धिअनुरुप नेपालले हिउँदयाममा तीन सय क्यूसेक र वर्षायाममा एक हजार क्यूसेक पानी पाउने व्यवस्था छ ।

सन्धि बमोजिम सिँचाइ सुविधा उपलब्ध गराउन संरचना बनिसकेका छन् । तर पानी सञ्चालन नभएकाले निर्मित संरचना बिग्रिन थालेको आयोजनाले जनाएको छ । करिब ९ अर्ब लगानी भइसक्दा पनि प्रतिफल पाउन नसकेको भन्दै स्थानीय रुपमा आलोचना हुने गरेको छ ।

महाकाली सिँचाइ आयोजनामार्फत सतह सिँचाइबाट २८ हजार, भूमिगत सिँचाइबाट ५ हजार गरी ३३ हजार हेक्टर क्षेत्रमा दिगो सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य छ । आयोजनाको कूल अनुमानित लागत ३५ अर्ब रुपैयाँ रहेको छ ।

clock बुधबार ०२, पुष २०८२ १०:००

प्रतिक्रिया