कैलालीमा ५० हजार बढी किशोरीलाई एच.पि.भी खोप लगाइने

  मङ्गलबार १५, माघ २०८१ १७:२५

धनगढी । कैलालीमा ५० हजार भन्दा बढी किशोरीलाई एचपिभी खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय कैलालीका अनुसार कक्षा ६ देखि १० सम्म अध्ययनरत र विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका ५० हजार ६ सय १६ जना किशोरीलाई खोप लगाइने भएको हो ।

माघ २२ गतेदेखि सञ्चालन गरिने खोप अभियानमा ५ सय ४६ विद्यालय र १ सय ५९ स्वास्थ्य केन्द्र एवं अन्य ठाउँमा खोप केन्द्र तोकिएका छन् । विद्यालयमा रहेका खोप केन्द्रबाट ४७ हजार ३ सय २६ छात्रा र विद्यालय नजाने ३ हजार २ सय ८७ किशोरीलाई खोप लाइने स्वास्थ्य कार्यालय कैलालीका प्रमुख रमेस कुँवरले जानकारी दिए । 

जिल्लाको जोशिपुर गाउँपालिकामा माघ २४ गतेदेखी एवं मोहन्यान गाउँपालिकामा माघ २७ गतेदेखी खोप कार्यक्रम शुरु हुने स्वास्थ्य कार्यालय कैलालीका प्रमुख कुँवरले जानकारी दिए । अन्य ११ स्थानिय तहमा माघ २२ गतेदेखीनै खोप कार्यक्रम शुरु हुने उनले बताए ।

जिल्लाका १३ पालिकामध्ये सबैभन्दा बढी धनगढी उपमहानगरपालिकामा १० हजार ८ सय ३४ र सबैभन्दा कम चुरे गाउँपालिकामा १ हजार १ सय ८ जनालाई एचपिची खोप लगाइने छ । खोप दिनका लागि स्वास्थ्यकर्मीलाई तालिम दिएर सम्बन्धित स्थानीय तहमा खटिसकिएको बताइएको छ । 

बिश्व स्वास्थ्य सगंठनबाट मान्यता प्राप्त एचपिभी खोपमा उमेर समुहका सबै किशोरी सहभागी हुन स्वास्थ्य तालिम केन्द्र धनगढीका निर्देशक नरेन्द्र सिहं कार्कीले आग्रह गरे । पाठेघरको क्यान्सरका कारण अकालमै ज्यान गुमाउनुपर्ने परिस्थिती अन्त्य गर्न यो खोप अभियान सञ्चालन भएको बताउँदै उनले आफ्नो भविश्यको चिन्ता गरेर शुरक्षित रहन खोप कार्यक्रममा सहभागी हुन आग्रह गरे ।

No description available.

clock मङ्गलबार १५, माघ २०८१ १७:२५

प्रतिक्रिया