दिपायलमा निर्माणाधीन अस्पताल अलपत्र, ठेकेदारलाई कालोसूचीमा राख्ने तयारी
डोटी । दिपायल सिलगढी नगरपालिका–२ दिपायलमा निर्माणाधीन अस्पतालको काम लामो समयदेखि सुस्त हुँदा आयोजना अलपत्र परेको छ। २०८० असोज ३० मा इन्द्रायणी बिल्डर्स एण्ड सप्लायर्स, काठमाडौंसँग १ करोड ११ लाख ८९ हजार रुपैयाँमा सम्झौता गरी निर्माण सुरु गरिएको अस्पताल तोकिएको समयभन्दा १४ महिना बढी बितिसक्दा पनि निर्माण कार्य गरिएको छैन ।
नगरपालिकाका अनुसार हालसम्म ठेकेदार कम्पनीलाई कामको प्रगतिअनुसार दुई किस्तामा ३६ लाख ८ हजार रुपैयाँ भुक्तानी गरिएको छ। नगरपालिकाका इन्जिनियर शिवबहादुर माझीका अनुसार आर्थिक प्रगतिका हिसाबले हालसम्म ३२ प्रतिशत मात्रै काम सम्पन्न भएको छ।
सम्झौताअनुसार २०८१ चैत ३० गतेभित्र अस्पताल निर्माण सम्पन्न गर्नुपर्ने भए पनि हालको प्रगतिले समयमै काम सकिने सम्भावना न्यून देखिएको नगरपालिकाले जनाएको छ। निर्माणमा निरन्तर ढिलासुस्ती भएपछि स्थानीय तह कडा कदम चाल्ने तयारीमा छ।
ुहामीले पटक–पटक ताकेता गरिरहेका छौं,ु इन्जिनियर माझीले भने, ुअब ठेकेदार कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाउँछौं।ु यस सम्बन्धमा ठेकेदार कम्पनीका सञ्चालक अशोक गैरेसँग प्रतिक्रिया लिन खोज्दा सम्पर्कमा आउन चाहेनन्।
अस्पताल सञ्चालनमा आएपछि स्वास्थ्य सेवामा सहजता हुने स्थानीय सन्तोष नेपालीले बताए। ुडोटीमा राम्रो अस्पताल नहुँदा सामान्य बिरामी पर्दा पनि धनगढी वा नेपालगन्ज जानुपर्ने बाध्यता छ,ु उनले भने, ुउपचार खर्चभन्दा यात्रा र बसाइमै धेरै पैसा खर्चिनुपर्छ, यो ठूलो समस्या हो।ु
अस्पताल निर्माण सम्पन्न भए दिपायल सिलगढी नगरपालिकाका करिब ३६ हजार नागरिकले प्रत्यक्ष सेवा पाउने अपेक्षा गरिएको छ। जिल्ला सदरमुकाम नजिकै रहेकाले आसपासका क्षेत्रका बासिन्दाले पनि सेवा लिन सक्ने नगरपालिकाको भनाइ छ।
प्रतिक्रिया