डडेल्धुरा अस्पतालमा पाँच महिनादेखि एक्स–रे सेवा ठप्प

  मङ्गलबार २३, मङि्सर २०८२ ०८:०२

डडेल्धुरा । डोटीको शिखर नगरपालिका–१० बानेडुङ्ग्रसैनका अर्जुननाथ योगीलाई सडकमा हिँड्दै गर्दा मोटरसाइकलले ठक्कर दियो । खुट्टामा गम्भीर चोट लागेपछि परिवारले ६ हजार रुपैयाँमा गाडी बुक गरेर डडेल्धुरा अस्पताल पुर्‍याए । तर अस्पतालमा पुगेपछि चिकित्सकले एक्स–रे सेवा नै नभएकाले उपचार सम्भव नहुने बताए ।

बाध्यतावश योगीले फेरि डोटी फर्कनु पर्‍यो । उनका छोरा चन्द्रनाथ योगीका अनुसार चोटपटकका बीच उनीहरू महँगो निजी औषधि खरिद र अनावश्यक यात्रामा परेको खर्चले थप पीडित बने । यो त एक उदाहरण मात्रै हो । यहाँ दैनिक एक्स–रे गर्न आउने बिरामीले यस्तै सास्ती खेप्नु परेको छ ।

संघीय मातहतको डडेल्धुरा अस्पताल सुदूरपश्चिमका सात पहाडी जिल्लाको मुख्य भरोसा मानिन्छ । तर, गुणस्तरीय सेवा र चिकित्सकको व्यवहारदेखि लिएर नियमित उपचार सुविधासम्मका गुनासो बेलाबेला उठ्ने अस्पताल अहिले पाँच महिनादेखि एक्स–रे सेवा ठप्प भएपछि झनै आलोचनामा परेको छ ।

एक्स–रे मेसिन बिग्रिँदा बिरामीहरू सामान्य चोटपटकदेखि जटिल समस्या लिएर धनगढीका निजी अस्पतालमा धाउन बाध्य छन् । खर्चिलो उपचार र लामो दूरीको यात्राले बिरामीलाई थप बोझ परेको सेवाग्राहीको गुनासो छ ।

अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा। सुधा देवकोटाका अनुसार अस्पतालमा रहेका दुईवटा एक्स–रे मेसिनमध्ये ठूलो मेसिन बिग्रिएको हो । अहिले सानो मेसिनले हात–खुट्टाको सामान्य एक्स–रे मात्र गर्न सकिने स्थिति छ । ढाड, कम्मर वा ठूलो आकारका एक्स–रे गर्न नसक्ने भएकाले जटिल केस सबै रिफर गर्नुपरेको उनले बताइन् ।

बिग्रिएका मेसिन पुरानो भएकाले मर्मत सम्भव नभएपछि नयाँ मेसिन खरिदका लागि टेन्डर प्रक्रिया सुरु भइसकेको उनले बताइन् । उनका अनुसार करिब एक महिनाभित्र समस्या समाधान हुने अपेक्षा छ ।

सेवा ठप्प हुँदा डडेल्धुरासँगै छिमेकी जिल्लाका बिरामी पनि मर्कामा परेका छन् । एक्स–रे गर्नकै लागि धनगढी धाउँदा समय र पैसा दुवै बर्बाद हुने स्थानीयको गुनासो छ । कतिपयले अस्पतालमा सरल स्वास्थ्य सेवा र फार्मेसीबाट उपलब्ध हुनुपर्ने निःशुल्क औषधिसम्म नपाएको बताउँछन् । बैतडीको पाटनका धीरज भट्टले सामान्य उपचार र औषधि लिन समेत अस्पतालमा समस्या भइरहेको बताए ।

clock मङ्गलबार २३, मङि्सर २०८२ ०८:०२

प्रतिक्रिया