उपचार गराउन शिविर पर्खिन्छन् बैतडीका महिला

  सोमबार २९, मङि्सर २०८२ ११:००

धनगढी । बैतडी जिल्लाका ग्रामीण भेगका महिला पाठेघर खसेको उपचार गर्न अझै शिविरलाई पर्खिने गरेको पाइएको छ । गाउँमा उपचार सेवा नहुनु, जिल्ला अपस्ताल टाढा हुनु र बदनाम हुने डरले रोग लुकाएर बस्ने समस्याले गर्दा ग्रामीण महिलाले शिविर पर्खिने गरेको शिवनाथ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रसिंह महताले बताए ।

शिवनाथ गाउँपालिकामा जारी रहेको स्वास्थ्य शिविरमा पाठेघर खस्ने समस्या लिएर आएका महिलाले बर्सौंदेखि रोग लुकाएर बसेको पाइएको छ । यसले पुष्टि हुन्छ कि महिलाहरू शिविरबाहेक अन्य ठाउँमा उपचार गराउन जाँदैनन् । ग्रामीण क्षेत्रमा अहिले पनि बालविवाह नरोकिएको र गर्भवतीले आराम नपाउने समस्या रहेको पाइएको उनले बताए । २० वर्ष उमेर नपुग्दै विवाह गर्ने चलन कायमै रहेकाले अभिभावक सचेत बन्नुपर्ने स्वास्थ्यकर्मीले बताएका छन् ।

शिवनाथ गाउँपालिकामा जारी रहेको स्वास्थ्य शिविरमा १२० महिलाको भिडियो एक्सरे र ३२ जना महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षण गरिएको छ । परीक्षणका क्रममा क्यान्सर देखिएकी एक महिलालाई रेफर गरिएको छ भने चार जनाको पाठेघरमा रिङ पेसरी राखिएको छ ।

शनिबार जिल्ला अस्पताल बैतडीले शिवनाथ गाउँपालिका–२ को शर्मालीमा विशेषज्ञ चिकित्सक लगेर एकदिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्दा एकै वडाका ३३१ जनाले स्वास्थ्य परीक्षण गराएका छन् ।

शिवनाथ गाउँपालिका र जिल्ला अस्पताल बैतडीको संयुक्त आयोजना र जिल्लास्थित सुरक्षा निकायको सहआयोजनामा नागार्जुन मावि शर्मालीमा स्वास्थ्य शिविर सञ्चालन गरिएको जिल्ला अस्पताल बैतडीका मेडिकल सुपरिन्टेन्डेन्ट डा सुशील विकले बताए ।

शिविर सञ्चालन गर्न जिल्ला अस्पतालमा कुनै बजेट र कार्यक्रम नभएकाले गाउँपालिकाको अनुरोधमा विशेषज्ञ चिकित्सक गाउँमा खटिएको जिल्ला अपस्ताल बैतडीका व्यवस्थापक सुमन महराले बताए । जिल्ला अस्पतालबाट सञ्चालन हुने कार्यक्रम बन्द हुँदा विशेषज्ञ स्वास्थ्य सेवा लिन टाढा जानुपर्ने बाध्यता भएकाले गाउँपालिकाको अगुवाइमा शिविर आयोजना गरेको शिवनाथ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रसिंह महताले बताए ।

clock सोमबार २९, मङि्सर २०८२ ११:००

प्रतिक्रिया