ठेकेदारले काम रोकेपछि लम्की अस्पताल अलपत्र
धनगढी । कैलालीको लम्कीचुहा नगरपालिका –१० चुहामा सामुदायिक अस्पताल निर्माणको कार्य अलपत्र परेको छ। निर्माण कम्पनीका ठेकेदारले काम रोकेपछि अस्पताल निर्माण कार्य अलपत्र परेको हो।
काम गरेवापतको भुक्तानी बाँकी रहेको भन्दै निर्माण कम्पनीले काम रोकेको छ। दुई वर्षभित्र ५० शय्याको सामुदायिक अस्पताल तयार पार्नेगरी ठेक्का पाएको केएस–शनिदेव जेभी महेन्द्रनगरले झन्डै दुई वर्षदेखि अस्पतालको काम गरेको छैन। डेढ वर्षसम्म निर्माणको काम गरेर कम्पनीले बाँकी काम रोकेर राख्दा पाँच वर्षसम्म अस्पताल बन्न सकेको छैन।
५० लाख रुपियाँ भुक्तानी लिन बाँकी रहेको भन्दै निर्माण कम्पनीका ठेकेदारले बाँकी काम नगरेको वडा अध्यक्ष हर्कबहादुर कठरिया थारुले बताए। बजेट अभावको कारण अस्पताल निर्माणको काम अगाडि बढ्न नसकेको भन्दै उनले थपे, “भुक्तानी बाँकी रहेको भन्दै ठेकेदारले काम रोकेको केही वर्ष भइसक्यो। अस्पताल निर्माणको कार्यले पूर्णता नपाउँदा बनेका संरचनामा क्षति भइरहेको छ।”
अस्पताल भवनको निर्माण कार्य अझै धेरै बाँकी छ। चार–पाँच वटा क्वार्टरसहितका केही संरचना भने तयार भइसकेका छन्। अधुरो अस्पताल र बनेको संरचनाको संरक्षण हुन सकेको छैन। क्वार्टर र अस्पताल भवन लागुऔषध दुव्र्यसनमा फसेका युवायुवतीको गलत कार्यस्थल बनेको जनाइएको छ।
त्यस्तै, झ्याल, ढोका, सीसा लगायतका संरचनामा क्षति गरेको छ। रेखदेख गर्ने कोही नहुँदा बनेको संरचनामा क्षति गर्ने, सामान चोरी गरेर लैजाने लगायतका कामहरु भइरहेको वडा अध्यक्ष कठरिया थारुको भनाइ छ।
दुई वर्षमा अस्पताल तयार पार्नेगरी आर्थिक वर्ष २०७७–७८ मा अस्पताल निर्माणको ठेक्का भएको थियो। भ्याटसहित १४ करोड ८५ लाख रुपियाँमा ठेक्का सम्झौता भएको अस्पताल निर्माणमा निर्माण कम्पनीले आफूले काम गरेवापतको भुक्तानी लिइसकेको लम्कीचुहा नगरपालिकाको कार्यालयले जानकारी दिएको छ।
“काम गरेवाफतको भुक्तानी निर्माण कम्पनीले लिइसकेको छ” नगरपालिकाका इन्जिनियर भरतराज जोशीले भने, “काम गरेको बिल, भर्पाइ पेश गरेपछि मात्रै अर्थ मन्त्रालयबाट बजेट आउने हो।”
उनले डेढ वर्षसम्म सामुदायिक अस्पताल निर्माणको काम गरेर त्यसपछि बाँकी काम ठेकेदारले छोडेको जानकारी दिए। इन्जिनियर जोशी भने, “अब फेरि काम गर्न आउने भनेर सुनेको छु। तर, कहिलेदेखि काम गर्ने त्यो थाहा भएन।”
लम्कीचुहा नगरपालिकाले गाडी खरिदका लागि छुट्याएको ७५ लाख रुपियाँबाट तत्कालीन नगर प्रमुख महादेव बजगाइँको पालादेखि अस्पताल निर्माणको कार्य सुरु गरिएको थियो। ७५ लाख रुपियाँबाट अस्पताल भवनको भुइँतलाको निर्माण गरिएको थियो। त्यसपछि बाँकी काम सङ्घीय सरकारको बजेटमा भएको छ।
वडा अध्यक्ष कठरिया थारुका अनुसार अस्पताल निर्माणका लागि तत्कालीन प्रदेश सभा सदस्यको स्थानीय पूर्वाधार विकास कार्यक्रमबाट एक करोड १३ लाख र सङ्घीय सांसदको स्थानीय पूर्वाधार विकास कार्यक्रमबाट एक करोड १० लाख बजेट प्राप्त भएको थियो। अस्पताल निर्माणमा धेरै बजेट खर्च भइसकेको उनले बताए।
साढे पाँच बिघा जमिनमा निर्माणाधीन सो अस्पतालको निर्माण कार्य रोकिनु दुःखद रहेको पूर्व नगर प्रमुख महादेव बजगाइँको भनाइ छ। आफ्नो पालामा अस्पताल निर्माणको काम भए पनि नेतृत्व बदलिएसँगै काम थन्किएको उनले उल्लेख गरे।
प्रतिक्रिया