शुक्लाफाँटामा बाघ गणनाको तयारी

  शुक्रबार ०४, पुष २०८२ ११:५२

धनगढी । नेपालमा सबैभन्दा थोरै क्षेत्रमा बढी बाघ रहेको सुदूरपश्चिम प्रदेशको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको तयारी गरिएको छ । बाघको पछिल्लो सङ्ख्या र अवस्था अद्यावधिक गर्ने उद्देश्यले राष्ट्रिय बाघ गणना अन्तर्गत बाघ गणनाको तयारी गरिएको हो । नेपालमा तीन वटा क्लस्टर छुट्याएर बाघ गणना गरिँदै छ ।  

तेस्रो क्लस्टर अन्तर्गत शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको कार्य हुने निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले जानकारी दिनुभयो । गणनाका लागि निकुञ्जका तर्फबाट आन्तरिक सबै तयारी पूरा भइसकेको उहाँको भनाइ छ । “विभागको टोली आएर एक पटक ओरियन्टेसन पनि गरिसकेको छ,” वाग्लेले भन्नुभयो, “हाम्रातर्फबाट गर्नुपर्ने आन्तरिक तयारी पूरा गरिसकेका छौँ ।”

सन् २०२२ मा गरिएको राष्ट्रिय गणनामा शुक्लाफाँटामा ३६ वटा बाघ अभिलेख भएका थिए तर निकुञ्ज कार्यालयको आन्तरिक अनुगमनमा यस वर्ष ४३ बाघ फेला परेका छन् । गत वर्ष आन्तरिक अनुगमनमा ४४ बाघ क्यामरा ट्र्यापमा परेकामा यस वर्ष एउटा घटेको निकुञ्ज कार्यालयले जानकारी दिएको छ । क्यामरामा नपरेको वा मृत्युको कारण यस पटक एउटा बाघ फेला नपरेको हुन सक्ने वाग्लेको भनाइ छ । उहाँका अनुसार निकुञ्जमा दुई वटा बाघ प्राकृतिक कारणले मरिसकेका छन् । 

सानो क्षेत्रफल रहेको शुक्लाफाँटामा बढी बाघ रहे पनि व्यवस्थापनमा समस्या भने नरहेको निकुञ्ज कार्यालयले जानकारी दिएको छ । निकुञ्ज क्षेत्रमा आहारा प्रजातिको घनत्व पर्याप्त रहेका कारण निकुञ्जका बाघले समस्या नगरेको बताइएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा प्रतिवर्गकिलोमिटरमा आहारा प्रजातिको घनत्व १४६ रहेको छ । आहारा प्रजातिको यो अवस्था नेपालमै सबैभन्दा बढी रहेको सूचना अधिकारी वाग्लेले बताउनुभयो । 

उहाँका अनुसार बाघलाई हप्तामा ५० केजी जति मासु चाहिन्छ । यो वन्यजन्तुले एक हप्तामा एक पटक सिकार गर्ने गरेको जनाइएको छ । मृग प्रजाति बाघका आहारा प्रजाति हुन् । नेपालमा पाइने छ प्रकारका मृगमध्ये कस्तूरीबाहेक जरायो, बाह्रसिङ्गा, चित्तल, रतुवा र लगुना शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाइने गरेका छन् । बाघ गणनासँगै बाघको आहारा प्रजातिको पनि गणना गरेर घनत्व निकालिने गरेको सूचना अधिकारी वाग्लेले बताउनुभयो । 

एउटा भाले बाघ ५० देखि ६० वर्गकिलोमिटर र पोथी बाघ २० देखि ३० वर्गकिलोमिटर क्षेत्र बनाएर बस्ने गरेको जनाइएको छ । नेपालमा प्रत्येक चार वर्षको अन्तरालमा बाघको राष्ट्रिय गणना गर्ने गरिन्छ । चितवन, बाँके, बर्दियामा गणना सकेर अन्तिममा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना हुने राष्ट्रिय प्रकृति संरक्षण कोष शुक्लाफाँटाका प्रमुख लक्ष्मीराज जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “उता गणना सम्पन्न भएपछि मात्रै यहाँ गणना हुने भएकाले दुई महिनापछि मात्रै गणना हुन्छ होला ।” बाघ गणनाका लागि स्वचालित क्यामरासहित निकुञ्जका दुई जना कर्मचारी पनि चितवनतिरै गएको निकुञ्ज कार्यालयले जानकारी दिएको छ । नेपालमा सन् २०२२ को तथ्याङ्क अनुसार ३५५ वटा बाघ रहेका छन् ।    

clock शुक्रबार ०४, पुष २०८२ ११:५२

प्रतिक्रिया