धनगढीमा एचआईभी एड्स न्यूनीकरण बारे छलफल
धनगढी । सुदूपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा एचआईभी एड्स न्यूनीकरण गर्ने विषयमा छलफल भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालय डोटीको आयोजना र एड्स हेल्थ केयर फाउन्डेसन –एएचएफ० को संयोजनमा मंगलबार धनगढीको रुवस होटलमा एचआईभी एड्स कार्यक्रमका लागि विकेन्द्रीकरण बजेट विनियोजन तथा खरिद प्रणाली सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा एचआईभी एड्स फैलिन नदिन के–कसरी अगाडि बढ्न सकिन्छ, संघीय सरकार र प्रदेश सरकार लगायतका निकायबीच समन्वय गर्दै सोहीअनुसार बजेट व्यवस्थापन गर्ने सम्बन्धमा सरोकारवालाबीच छलफल भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डाक्टर शर्वेश शर्माले सन् २०३० सम्म एचआईभी एड्स रोगको संक्रमण र मृत्युदर शून्यमा पुगाउने लक्ष्यअनुसार काम गरिरहेको बताए ।
शर्माले एचआईभी रोगको न्यूनीकरणमा सुदूरपश्चिम प्रदेशले उल्लेख काम गरेको बताउँदै केन्द्र रोग न्यूनीकरणका लागि आवश्यकताअनुार बजेट विनियोजन गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।
प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका प्रमुख डाक्टर खगेन्द्र बमले एचआईभी संक्रमणको पहिचान, न्यूनीकरण तथा रोकथामका लागि प्रदेशका ९ वटै जिल्लामा कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए । उनले सिमित स्रोत, साधनका बाबजुत पनि एचआईभी सम्बन्धी विभिन्न सचेतनामुलक कार्यक्रम चलाइरहेको बताए ।
बमले सरकारको बजेटमा स्वास्थ्य सेवाले अपेक्षाअनुसार प्राथमिकता पाउन नसकेको बताउँदै सरोकारवाला सबै पक्षले एकबद्ध भएर अघि बढ्नुपर्ने बताए ।
प्रतिक्रिया