गेटा अस्पतालमा दूरबीन पद्धतिबाट सर्जरी सेवा सुरु
धनगढी । कैलालीको गोदावरी नगरपालिकामा अवस्थित गेटा अस्पतालमा पहिलो पटक ल्याप्रोस्कोपिक (दूरबीन पद्धति) बाट सर्जरी सेवा सुरु भएको छ। अस्पतालका निर्देशक तथा ल्याप्रोस्कोपिक सर्जन डा. प्रमोद कुमार यादवको नेतृत्वमा बुधबार पहिलो सर्जरी सफलतापूर्वक सम्पन्न भएको हो।
यो पहिलो सर्जरी डडेल्धुरा अमरगढी नगरपालिका–९ ढाँटगाउँकी स्थायी बासिन्दा ४५ वर्षीया कमला दमाईको पित्तथैली (गल ब्लाडर) को भएको थियो। लामो समयदेखि पित्तथैलीमा पत्थरीको समस्या झेल्दै आएकी दमाई हाल कैलालीको गोदावरीमा श्रीमान् र छोराछोरीसँग भाडाको घरमा बस्दै आएकी थिइन्।
सर्जरी टोलीमा ल्याप्रोस्कोपिक सर्जन डा। प्रमोद कुमार यादवसँगै सर्जन डा. विजय भट्ट, एनेस्थेसियोलोजिस्ट डा. रोजी जोशी तथा नर्सहरू रेबिका विष्ट र आरती भण्डारी सहभागी थिए।
अस्पताल निर्देशक डा। यादवले गेटा अस्पतालमा यो सेवा पहिलो पटक सुरु भएको बताउँदै अस्पतालको सेवा विस्तार भइरहेको जानकारी दिए। पछिल्लो समय अस्पतालमा बिरामीहरूको भर्ना दर पनि बढ्दै गएको उनको भनाइ छ।
बिरामी कमला दमाईका श्रीमान् रामचन्द्र दमाईले गेटा अस्पतालमा आफ्नी श्रीमतीको सफल सर्जरी भएकोमा खुसी व्यक्त गरे। “अब गेटामा ठूलो अस्पताल बनोस्, सबैले सस्तोमा उपचार पाउन” उनले भने।
निजी अस्पतालहरूमा यस्तो ल्याप्रोस्कोपिक सर्जरीको औषधि र भर्ना शुल्कसहित कम्तीमा १ लाख रुपैयाँ खर्च लाग्ने गरेको छ। तर गेटा अस्पतालमा भने औषधि र बेड शुल्कसहित ३५–४० हजारभित्रै यो सेवा उपलब्ध हुने अस्पताल प्रशासनले जनाएको छ।
यो सेवाको सुरुवातले सुदूरपश्चिम क्षेत्रका बिरामीहरूलाई महँगो र टाढाको उपचारबाट राहत मिल्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया