कञ्चनपुरका पत्रकार पक्राउ प्रकरण : रिहा गर्न प्रदेश महासङ्घको माग

  आइतबार २८, माघ २०८० ०९:५२

धनगढी । कञ्चनपुर प्रहरीले दुई पत्रकारलाई पक्राउ गरेकोमा रिहा गर्न माग गरिएको छ। जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले शनिवार पत्रकार ऐश्वर्य कुँवर र पुष्कर भट्टलाई नियन्त्रणमा लिएको थियो। उनीहरूलाई बिना सर्त रिहा गर्न पत्रकार महासङ्घ, सुदूरपश्चिमले माग गरेको छ।

शनिवार बिहान पत्रकार भट्टलाई नियन्त्रणमा लिएको कञ्चनपुर प्रहरीले दिउँसो कुँवरलाई समेत नियन्त्रणमा लिएको थियो। उनीहरूको विषयमा कञ्चनपुर प्रहरीसँग नेपाल पत्रकार महासङ्घ, कञ्चनपुर शाखाका अध्यक्ष माधव धामीसहितको समूहले छलफल गरेको थियो। तर, प्रहरी पत्रकारहरूलाई छोड्ने मनसायमा नदेखिएपछि पत्रकारका संघरसंगठनहरू एक भएका छन्।

कञ्चनपुर प्रहरीको विरुद्धमा समाचार लेखेका जिल्लाको भीमदत्त नगरपालिका–४ का ४२ वर्षीय भट्ट र वडा नम्बर ५ की कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएको भन्दै पत्रकारहरूले विरोध गरेका हुन्।

पत्रकार महासङ्घ, सुदूरपश्चिमका महासचिव रामसिंह ठगुन्नाले जारी गरेको विज्ञप्तिमा विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ को प्रयोग गलत ढङ्गबाट भइरहेको भन्दै त्यसको खारेजीको माग समेत गरिएका छन्।

नेपाल पत्रकार महासङ्घ केन्द्र र जिल्ला शाखा, कञ्चनपुर, प्रेस युनियन, प्रेस चौतारी र प्रेस सेन्टर कञ्चनपुरले पनि विज्ञप्ति मार्फत घटनाको विरोध गरेका छन्। प्रहरीले मागको सम्बोधन नगरे आन्दोलनमा जाने विज्ञप्तिहरूमा उल्लेख गरिएको छ।

clock आइतबार २८, माघ २०८० ०९:५२

प्रतिक्रिया