सुदूरपश्चिम महोत्सव : दुःख–सुख बिसाउने चौतारीदेखि छुट्टिएका मित्रता जोड्ने साझा थलो बन्दै
धनगढी । सुदूरपश्चिम महोत्सव केवल व्यापार र मनोरञ्जनको केन्द्र मात्र बनेको छैन, यो आम नागरिकका लागि दुःख–सुख बिसाउने, मन हलुका बनाउने र समयले टाढा पारेका पुराना साथीभाइ भेट्ने आत्मीय थलोका रूपमा स्थापित हुँदै गएको छ।
महोत्सव स्थलमा प्रवेश गर्नेबित्तिकै सुनिने संगीत, देखिने रौनक र भेटिने आफ्नोपनले मानिसलाई केही बेरका लागि जीवनका तनाव भुल्न बाध्य बनाउँछ। गाउँदेखि सहर, देशदेखि विदेशसम्म छरिएर बसेका सुदूरपश्चिमेलीहरू यही महोत्सवमा भेटिँदा पुराना सम्झना ताजा हुन्छन्, छुट्टिएको मित्रता फेरि जोडिन्छ।

स्थानीय उत्पादनका स्टल, परम्परागत खानाका स्वाद, मौलिक कला–संस्कृतिका प्रस्तुति र राष्ट्रिय स्तरका कलाकारको सांगीतिक कार्यक्रमले महोत्सवलाई भावनात्मक र सांस्कृतिक उत्सवको रूप दिएको छ। परिवारसहित घुम्न आएका दर्शकदेखि पुराना सहकर्मी र विद्यालयकालीन साथीहरू भेटिँदा महोत्सव स्थल आफैंमा जीवनका कथाहरू साट्ने चौतारी बनेको देखिन्छ।
आयोजक कैलाली उद्योग वाणिज्य संघका सदस्य कमला भट्टराईका अनुसार सुदूरपश्चिम महोत्सव आर्थिक गतिविधि चलायमान गराउनेसँगै सामाजिक सद्भाव र आत्मीयता बढाउने साझा थलोका रूपमा विकसित भइरहेको छ। “महोत्सवले मानिसलाई नजिक ल्याएको छ, हाँसो र सम्झनाको पुल बनेको छ,” भट्टराईले बताईन ।

सुदूरपश्चिम महोत्सवले व्यापार, मनोरञ्जन र संस्कृतिको उत्सव मात्र होइन, जीवनका दुःख–सुख बिसाउने र सम्बन्धहरू पुनर्जीवित गराउने आत्मीय संगमस्थल समेत बनाएको छ ।
बिगत ११ बर्ष देखि भेट नभएको आफ्नो स्कुल पढ्दाको साथिसंग महोत्सवकै कारण भैट भएको बताउदै धनगढी उपमहानगरपालिका १३ का रामबकस रानाले एसएलसी पछि आफुहरुको पहिलोपटक भेट भएको भन्दै साथी राम बोहरालाई देखाउदै दंग थिए ।
यस्तै धनगढी कै बयोबृद्ध बादुदेव भण्डारीले समेत आफुले २५र३० बर्ष पुरानो साथी महोत्सवमै भेट्न पाउदा निकै खुशी लागेको बताए । उनले डोटीबाट आफु कैलाली बसोबास गर्न थालेदेखि पहिलो पटक साथी भिमकान्त जोशीसंग महोत्सवमै भेट भएर सुखदुख साटासाट गर्न पाउदा निकै खुशी भएको बताए ।



प्रतिक्रिया