धनगढीमा नेविसंघले गर्‍यो सिकलसेल सम्बन्धी जनचेतनामूलक कार्यक्रम

  आइतबार १४, माघ २०८० १५:२१

धनगढी । नेपाल विद्यार्थी संघ, धनगढी नगर कार्यसमितिको आयोजनामा एक दिने सिकलसेल एनिमिया रोग सम्बन्धी जनचेतना तथा अभिमुखीकरण कार्यक्रम समपन्न भएको छ। कैलाली र कञ्चनपुरमा थारू समुदायमा देखा पर्ने यो रोगको शनिवार अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो।

थारू समुदायलाई लक्षित गरी धनगढी १२ जुगेडाको मुक्तिनाथ विद्यालयमा कार्यक्रम आयोजना गरिएको हो। नेविसंघ धनगढीका अध्यक्ष दिपेश बोहराको अध्यक्षता भएको कार्यक्रममा नेविसंघ केन्द्रीय सदस्य सुमन केसी, कैलालीका अध्यक्ष मनिष कुँवर र हितेश चन्दको सहभागिता रहेको थियो।

कार्यक्रममा डाक्टर प्रदिप मिश्र र डाक्टर गणेश फुलाराले सिकलसेल एनिमियाको लक्ष्यण, उपचार विधि, नयाँ पुस्तामा रोग सर्न नपाओस् भनेर अपनाउनुपर्ने सावधानीका बारेमा चर्चा गरेका थिए। कार्यक्रममा थारु समुदायका करिब दुई सय जनाको सहभागिता रहेको थियो। ‘सिकलसेल एनिमिया बाल्यावस्थाबाटै देखिन सुरु हुने गर्छ।

सिकलसेल भएमा रातो रक्तकोषको संख्या घट्ने हुँदा एनिमियाका लक्षण देखिनुका साथै बारम्बार संक्रमण भई रहने, शरीरको विभिन्न भागमा दुखाइ महसुस हुने भएकोले रोग लागेमा व्यक्तिले जीवनभर सास्ती पाउने भएकाले रोगबारे जनचेतना फैलाउन कार्यक्रम गरिएको नेविसंघ नगर सभापति दिपेश बोहराले बताए।

सिकलसेल भएका व्यक्तिहरूमा शरीरका विभिन्न अंगहरूमा अक्सिजन सहितको रातो रक्तकोषहरू पर्याप्त मात्रामा पुग्न नसक्दा यसले फोक्सो, मिर्गौला, फियो तथा मस्तिष्क लगायतका अंगहरूमा क्षति पुर्‍याउनुका साथै स्वास्थ्यमा गम्भीर असर पुर्‍याउन सक्ने डाक्टर प्रदीप मिश्रले बताए । सिकलसेल एनिमियाका कारण फोक्सोमा रगत पुर्‍याउने नलीमा रक्तचाप बढ्दा हृदयाघत भई मानिसको मृत्युसमेत हुनसक्ने डाक्टर मिश्रले बताएका छन्।

सिकलसेल एनिमिया निको नहुने रोगमा पर्छ। यो रोग एक पटक लागेपछि निको नहुने भएकोले यो रोगबाट बच्ने एकमात्र उपाय भनेको नयाँ रोग लाग्नबाट बच्नु भएको डाक्टर मिश्रले बताए। परिवारमा श्रीमान् र श्रीमती दुवै सिकलसेल एनिमियाबाट पीडित भएमा उनीहरूबाट जम्मने बच्चाहरूमा समेत सिकलसेल एनिमिया हुने सम्भावना धेरै हुने डाक्टर गणेश फुलाराले बताएका छन्। कार्यक्रम सर्वसाधारणले राखेको जिज्ञासाको जवाफ डाक्टर मिश्र र फुलाराले दिएका थिए।

clock आइतबार १४, माघ २०८० १५:२१

प्रतिक्रिया