राष्ट्रिय सभा निर्वाचनको मौन अवधि सुरु

  मङ्गलबार ०९, माघ २०८० ०७:०८

काठमाडौँ । राष्ट्रिय सभा निर्वाचनको मौन अवधि सोमबार रातिदेखि सुरु भएको छ । निर्वाचन आयोगका अनुसार ११ माघमा हुने निर्वाचनको सबै तयारी पूरा भएको छ । राष्ट्रिय सभाका १९ सदस्यका लागि निर्वाचन हुन थालेको छ । आयोगले चुनावमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम राख्न निर्वाचन आयोगले सोमबार मध्यराति १२ बजेदेखि मौन अवधि लागू गरेको हो । 

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थासहितको सबै तयारी पूरा भएको छ । आयोगले यस अवधिमा निर्वाचन प्रचारप्रसारमा भौतिक र अनलाइन गरी सबै प्रकारका गतिविधिमा रोक लगाइएको छ । ‘माघ ८ गते राति १२ बजेपछि कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने, सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोस्ट वा सेयर गर्न वा गराउन नहुने हुँदा सोबमोजिम आचरण पालना गर्न–गराउन अनुरोध गरिन्छ,’ आयोगको विज्ञप्तिमा छ । 

आयोगले मतदानका लागि बिहान ९ बजे देखि अपराह्न ३ बजेसम्मको समय तोकेको छ । आयोगका अनुसार यसपटकको निर्वाचनमा प्रदेश सभा सदस्यका लागि सेतो रङको कागजमा हरियो रङको निर्वाचन चिह्न रहेको मतपत्र र पालिकाका प्रमुख र उपप्रमुखहरूका लागि सेतो रङको कागजमा रातो रङको निर्वाचन चिह्न रहेको मतपत्र तयार गरी मतदान केन्द्रमा पठाइसकिएको छ । 

मतभारका आधारमा सत्तागठबन्धनको मतभार बढी छ । सत्तारूढ गठबन्धन एकातिर र एमाले अर्कोतिर प्रतिस्पर्धामा उत्रिँदा मतदान हुन लागेका सबै सिटमा एमाले पछाडि छ । राष्ट्रिय सभामा ५९ सिट छन् । अहिले निर्वाचनमा आठवटै सिट गुमाएमा एमाले राष्ट्रिय सभामा पहिलो दलबाट तेस्रो दल बन्नेछ । हाल १७ सिटसहित राष्ट्रिय सभामा पहिलो दल रहेको एमाले आठ सिट गुमाउँदा नौ सिटमा खुम्चिन्छ । हाल १४ सिट रहेको माओवादी एमालेका तीन सिट थप गरेर पहिलो दल बन्नेछ । हाल १० सिटसहित दोस्रो स्थानमा रहेको कांग्रेसले ६ सिट थप गर्दा राष्ट्रिय सभामा दोस्रो दलको हैसियत बनाउनेछ । तर, समग्रमा संघीय संसद् ९राष्ट्रिय सभा र प्रतिनिधिसभा०मा भने एमालेको स्थान दोस्रो दलकै हैसियतमा रहनेछ । 

clock मङ्गलबार ०९, माघ २०८० ०७:०८

प्रतिक्रिया