डडेल्धुराको परशुरामधाममा स्नान गर्नेको घुइँचो

  सोमबार ०१, माघ २०८० ०८:३०

डडेल्धुरा । परशुराम नगरपालिका–५ परीगाउँस्थित परशुरामधाममा माघे संक्रान्तिको अवसरमा सोमबार राति भव्य मेला लागेको छ। चार धाममध्येको एक परशुरामधाममा माघे संक्रान्तिको अवसरमा मेला लाग्ने गर्दछ। 

परशुरामधाममा रहेका चुनढुंगा भगवान परशुरामले तपस्या गरेपश्चात होम गर्दा बनेको जनविश्वास छ। भगवान परशुरामले तपस्या गरेकाले यो स्थानको नाम परशुरामधाम राखिएको पुराणमा उल्लेख छ। 

यहाँ पुस मसान्तको रातभर आगो तापेर भक्तजनहरू जाग्रम बस्ने गर्दछन्। त्यसो गर्नाले धर्म कमाइने विश्वास छ। माघे संक्रान्तिको बिहानै महाकाली किनारमा भक्तजनहरू नुहाउने  गर्दछन्। माघे संक्रान्तिको दिन स्नान गरे पाप मोचन भई पूण्य कमाइने विश्वास छ।

परशुरामधाममा लाग्ने मेला भर्न सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्ला र भारतबाट समेत तीर्थालु तथा दर्शनार्थीहरू आएको परशुराम नगरपालिकाका नगर प्रमुख भरत बडाएर जोशीले बताए।

एकातिर चूरे पर्वत शृंखला र अर्कोतिर महाभारत पर्वतसँगै भारतको पूर्णागिरि पर्वतको मध्य भागमा रहेको परशुरामधाम डडेल्धुराको सदरमुकामदेखि १०० किलोमिटर र कञ्चनपुरबाट ३९ किलोमिटरको मोटर यात्राबाट पुग्न सकिन्छ। 

स्कन्द पुराणमा उल्लेख भएअनुसार नजिकै रहेको पूर्णागिरि मन्दिरमा सतीदेवीको पूर्ण अंग पतनपछि भगवान् शिवले यही धाममा लामो समय तपस्या गरेका थिए। पछि ईश्वरीय अवतारका लागि यहीँ पूण्यभूमिमा परशुरामले तपस्या सफल पारे। परशुराम भगवान् विष्णुका दश अवतारमध्ये एक मानिन्छन्।

clock सोमबार ०१, माघ २०८० ०८:३०

प्रतिक्रिया