राष्ट्रिय सभा निर्वाचन : कस्ता छन् उम्मेदवार

  सोमबार २३, पुष २०८० ०६:२५

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचन आगामी ११ माघमा हुँदै छ । १९ सिटका लागि हुने निर्वाचनका लागि २३ पुसमा उम्मेदवारी दर्ताको समय निर्वाचन आयोगले तोकेको छ ।

५९ सदस्यीय राष्ट्रिय सभामा २० सांसदको पदावधि २० फागुनपछि सकिँदै छ । २० मध्ये एक जना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुनेछन् ।

१९ सिटका लागि प्रमुख राजनीतिक दलले उम्मेदवारको टुंगो लगाएका छन् । सत्तारूढ दल गठबन्धनको बैठकबाट भागबन्डा टुंगो लगाएपछि उम्मेदवारको टुंगो लगाउन जुटेका छन् । उता प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी ९एमाले०ले उम्मेदवारको टुंगो लगाएको छ ।

सुरुमा प्रमुख प्रतिपक्षी एमाले सत्तारूढ दलसँगै मिलेर निर्वाचनमा सहभागी हुनेगरी तयारी गरे पनि सत्तारूढ दलसँग तालमेल नमिलेपछि एक्लै निर्वाचनमा सहभागी हुँदै छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्तारूढ दलसँग मिलेरै निर्वाचनमा सहभागी हुनका लागि प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतका नेतासँग छलफल गर्दै आएका थिए । तर, अन्ततः एमाले एक्लै निर्वाचनमा सहभागी हुने अवस्था आएको हो ।

यस्ता छन् एमाले उम्मेदवार
एमालेले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि १९ वटै सिटको उम्मेदवार टुंगो लगाएको छ । महासचिव शंकर पोखरेलले विज्ञप्तिमार्फत उम्मेदवारको नाम सार्वजनिक गरेका छन् ।

एमालेले कोशी प्रदेशमा महिलाबाट सुनसरीकी रुक्मिणी चौधरी र अन्यबाट भोजपुरका परशुराम अधिकारीलाई उम्मेदवार बनाएको छ । त्यसैगरी, मधेसबाट महिलातर्फ पर्साकी उषादेवी थरुनी र अन्यबाट महोत्तरीका अर्जुनकुमार सिंहलाई उम्मेदवार बनाएको छ ।

बाग्मतीमा महिलातर्फ दोलखाकी रोचकुमारी चौलागाईं, अन्यबाट चितवनका त्रिलोचन निर्मल पौडेल, अल्पसंख्यक तथा अपांगता भएकाबाट काठमाडौंका विवेक देवकोटा र दलिततर्फ धादिङका ध्रुवराज विश्वकर्मालाई एमालेले उम्मेदवार बनाएको छ ।

गण्डकीबाट महिलातर्फ गोरखाकी सम्झना देवकोटा, अन्यतर्फ स्याङ्जाका चक्रबहादुर पराजुली र अल्पसंख्यक तथा अपांगताबाट मुस्ताङका हेमचन्द्र शेरचन एमालेका उम्मेदवार रहेका छन् ।

लुम्बिनीमा महिलातर्फ दाङकी तुलसाकुमारी केसी र अन्यतर्फ पाल्पाका झपेन्द्रबहादुर घर्ती एमालेका उम्मेदवार हुन् । त्यसैगरी, कर्णालीबाट महिलातर्फ हुम्लाकी बिमलाकुमारी शाही, अन्यतर्फ मुगुका डिल्लीप्रसाद भट्ट र दलिततर्फ दैलेखका हिक्मत विकलाई एमालेले उम्मेदवार बनाएको छ ।

त्यसैगरी, एमालेले सुदूरपश्चिमबाट महिलातर्फ कैलालीकी सावित्रीदेवी घिमिरे, अन्यतर्फ कञ्चनपुरका ईश्वरीप्रसाद खरेल र अल्पसंख्यक तथा अपांगतातर्फ कैलालीका रामचन्द्र जोशीलाई उम्मेदवार बनाएको छ ।

राष्ट्रिय सभामा पदावधि समाप्त भएका २० मध्ये एमालेका १० सदस्य रहेका छन् । गठबन्धनसँग प्रतिस्पर्धा गर्नुपर्ने भएकाले यसपटक एमालेले आफ्नो सिटसमेत गुमाउने अवस्था रहेको छ ।

यसपटक राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनेकी चौधरी २०७९ सालमा भएको प्रदेशसभा निर्वाचनमा रौतहट ३९क०मा पराजित भएकी थिइन् । सत्ता गठबन्धन दल जसपाले गठबन्धनबाट राष्ट्रिय सभामा १ सिट भाग पाउँदा परिवारवाद हाबी देखिएको छ ।

जसपाबाट चौधरी
यसैबीच, जनता समाजवादी पार्टी नेपाल (जसपा)बाट पूजा चौधरी राष्ट्रियसभा सदस्यको उम्मेदवार बन्ने भएकी छन् । सत्ता गठबन्धनबीच राष्ट्रिय सभाको १९ सिटमा भागबन्डा हुँदा एक सिट पाएको जसपाले चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । आइतबार बसेको जसपा कार्यकारिणी समितिको बैठकले रौतहटकी पूजा चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

मधेस प्रदेशबाट महिला सिटको भाग पाएको जसपाले चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । उनी गत वर्ष भएको प्रदेशसभा निर्वाचनमा रौतहट ३ (क) मा पराजित भएकी थिइन् । चौधरी जसपा राष्ट्रिय कार्यकारिणी समिति सदस्य गोविन्द चौधरीकी छोरी हुन् ।

उम्मेदवार छान्ने जिम्मेवारी तीन नेतालाई
यसैबीच, राष्ट्रिय सभा निर्वाचनका लागि सत्ता गठबन्धनबीच सिट भागबन्डा हुँदा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को भागमा २ सिट परेको छ । आइतबार उम्मेदवार छान्न एकीकृत समाजवादीको सचिवालय बैठक पार्टी कार्यालय आलोकनगरमा बसेको थियो । बैठकमा सम्भावित पात्रको बारेमा छलफल भए पनि निर्णय हुन सकेन ।

बैठकपछि पार्टी उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले दिएको जानकारीअनुसार बैठकले दुई उम्मेदवार छान्ने जिम्मा अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भुसाललाई दिएको छ ।

‘बैठकले हाम्रो पार्टीका तर्फबाट उम्मेदवार छान्ने जिम्मेवारी पार्टी अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भुसाल कमरेडलाई सर्वाधिकार दिएको छ,’ प्रवक्ता खतिवडाले भने । एकीकृत समाजवादीले पाएका २ सिटका लागि प्रमेश हमाल, नरेन्द्र बस्नेत, गणेश विकलगायतको नाममा सचिवालय बैठकमा छलफल भएको थियो ।

राप्रपाबाट कोको ?
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राष्ट्रिय सभा निर्वाचनका उम्मेदवार सार्वजनिक गरेको छ । राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुुसार कोशी प्रदेशमा उद्धव पौडेल, बाग्मती प्रदेशमा हेमजंग गुरुङ, नानु नगरकोटी, भरतमणि भट्ट र पूर्णबहादुर विश्वकर्मालाई उम्मेदवारका रूपमा अघि सारिएको छ ।

यस्तै, गण्डकीमा गौमाया श्रेष्ठ र रोमबहादुर भण्डारी तथा लुम्बिनीमा निरञ्जन थापा र विजयलक्ष्मी सिंहलाई उम्मेदवार बनाउने निर्णय भएको छ ।
यसैगरी, कर्णालीमा बबिता शाही, लक्ष्मीकुमारी सार्की, लालबहादुर शाहीको नाम टुंगो लागेको छ । सुदूरपश्चिममा रोमजंग स्वाँर, जनककुमारी कुँवर र जयकृष्ण बोहरा तथा सुमेश्वर उपाध्याय र तारा सुनारको नाम टुंगो लागेको छ ।

clock सोमबार २३, पुष २०८० ०६:२५

प्रतिक्रिया