समितिको निर्वाचनमा सरकारको हस्तक्षेप, गठबन्धनको बैठकपछि निर्वाचन प्रक्रिया स्थगित

  सोमबार ०८, असोज २०८० २१:२३

धनगढी । सुदूरपश्चिम प्रदेशमा रहेका विषयगत समितिको निर्वाचन प्रक्रिया स्थगित भएको छ । आगामी शुक्रबार यहाँका चार वटा समितिको निर्वाचन तय गरिएको थियो ।

आइतबार बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले आगामी शुक्रबार मतदान गर्ने गरि निर्वाचन प्रक्रिया सुरु गर्ने निर्णय गरेर कार्य तालिका समेत सार्वजनिक गरेको थियो । तर, निर्वाचन प्रक्रिया सुरु हुन तीन दिन वाकी रहँदा अनिश्चित समय सम्मका लागि निर्वाचन प्रक्रिया स्थगित गरिएको छ ।

अहिले निर्वाचन प्रक्रिया स्थगित भएको बारे प्रदेश सभा सदस्यहरुलाई समेत जानकारी गराइसकेको प्रदेश सभा सचिवालयका सचिव देव बहादुर बोगटीले जानकारी दिए ।

किन स्थगित गरियो निर्वाचन ?

मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा सत्ता गठबन्धनका नेता तथा प्रमुख सचेतकहरूलाई मुख्यमन्त्री कमल बहादुर शाहले आज बोलाएर निर्वाचन प्रक्रिया स्थगित गर्नु पर्ने बताएका थिए । उक्त छलफलमा माओवादी केन्द्रका दलका नेता खगराज भट्ट, प्रमुख सचेतक मान बहादुर धामी, नागरिक उन्मुक्ति पार्टीका नेता घनश्याम चौधरी, प्रमुख सचेतक खुसीराम चौधरी उपस्थित थिए ।

मुख्यमन्त्री सहित कांग्रेसका प्रमुख सचेतक विक्रम सिंह धामी र कांग्रेसका अन्य केही नेताहरूको उपस्थितिमा भएको बैठकमा मुख्यमन्त्री शाहले १३ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाल फर्किन उनीसँग सल्लाह गरेर अगाडी बढ्ने गरि निर्वाचन प्रक्रिया स्थगित गर्नु पर्ने बताएका थिए ।

यसअघि केन्द्रमा ६ वटा विषयगत समिति बनाउने गरि भद्र सहमति भएको थियो । त्यहि अनुसार सुदूरपश्चिम प्रदेशमा नियमावली संशोधन मस्यौदा समिति समेत तयार गरिएको थियो । तर, बिषयगत समितिको संख्या बढाउने बिषयमा सहमति नभएपछि ४ वटै समितिको निर्वाचन गर्ने गरि कार्य तालिका सार्वजनिक गरिएको थियो ।

सुदूरपश्चिम प्रदेशमा सत्ता गठबन्धनका चार दल छन् । ती दललाई एक एक समिति पनि नपर्ने भएपछि मुख्यमन्त्री शाहले तत्काल निर्वाचन प्रक्रिया स्थगित गरेर थप छलफल अगाडि बढाउने बिषयमा अघि बढेको स्रोतको दाबी छ ।

‘केन्द्रमा शीर्ष नेताहरूसँग ६ वटा विषयगत समिति बनाउने सहमति भएको हो । यहाँ त्यो हुन सकिरहेको छैन अब १३ गते पछि प्रधानमन्त्री र कांग्रेस सभापति लगायत शीर्ष नेताहरुसँग छलफल गरेर अगाडी बढ्नु पर्छ भन्ने मुख्यमन्त्रीको भनाइ थियो’, मुख्यमन्त्री शाहले गठबन्धनको बैठकमा भनेको कुरा उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले भने, ‘उहाँकै आग्रहमा अर्को सूचना जारी नहुँदा सम्मको लागि निर्वाचन प्रक्रिया स्थगित गरिएको हो ।’

निर्वाचन प्रक्रिया स्थगित गर्ने बारे छलफल गर्न बसेको बैठकमा निर्वाचन गर्ने निर्णय भएको बैठकमा रहेका तीन दलका प्रमुख सचेतक समेत थिए । मुख्यमन्त्रीकै जोडवलमा निर्वाचन प्रक्रिया स्थगित गरिएको बैठकमै सहभागी सांसदले जानकारी दिए ।

मुख्यमन्त्री-सभामुख भेट

सत्ता गठबन्धनको बैठक राख्नु भन्दा पहिले सभामुख र सरकारबीच छलफल भएको थियो । मुख्यमन्त्री कार्यालयका करिब २० मिनेट भएको छलफलमा सभामुख भीम भण्डारीसहित मुख्यमन्त्री शाह भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवा, आन्तरिक मामिला तथा कानूनमन्त्री शिवराज भट्ट, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरी बिच छलफल भएको थियो । मुख्यमन्त्री शाहले त्यहि बैठकमा पनि समितिको बैठक स्थगित गर्नु पर्ने बताएका थिए ।

स्रोतका अनुसार नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम लाल चौधरीको फोनपछि मुख्यमन्त्री शाह निर्वाचन प्रक्रिया स्थगित गर्ने पक्षमा पुगेका हुन् । नागरिक उन्मुक्ति पार्टीको प्रदेश सम्मेलनका लागि धनगढी पुगेका चौधरीले मुख्यमन्त्री शाहलाई केन्द्रमा भएको सहमति कार्यान्वयन गर्न दबाब दिएका थिए ।

‘हिजो रेशम चौधरीले मुख्यमन्त्रीलाई फोन गरेर तत्काल केन्द्रको सहमति कार्यान्वयन गर्न दबाब दिनु भएको हो ’ मुख्यमन्त्री कार्यालय स्रोतले भन्यो ‘त्यो फोन पछि तत्काल निर्वाचन प्रक्रिया स्थगित गर्न मुख्यमन्त्री लाग्नु भएको हो । ’

यस अघि काठमाडौँमा नागरिक उन्मुक्ति पार्टीलाई २ समिति दिने गरि सहमति भएको थियो । त्यसका लागि यहाँ रहेका चार समितिको संख्या ६ पुराउने तयारी गरिएको थियो । तर, त्यसमा सहमति हुनु भन्दा अघि नै उक्त मस्यौदा समितिको अवधि पुरा भएको थियो । अब उक्त समितिको अवधि थप गरेर वा नयाँ समिति तयार गरेर भएपनि सरकार समिति थप गर्ने रणनीति अनुसार निर्वाचन प्रक्रिया स्थगित गरिएको दाबी गरिएको छ।

clock सोमबार ०८, असोज २०८० २१:२३

प्रतिक्रिया