कञ्चनपुरको बेलौरीमा स्वास्थ्यकर्मी माथि हातपात

  बुधबार ०३, असोज २०८० १०:०२

कञ्चनपुर । कञ्चनपुरमा एक स्वास्थ्यकर्मीमाथि ड्युटीमै रहेका बेला हातपात भएको छ। जिल्लाको बेलौरीमा रहेको श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा घाइतेको उपचारमा खटिएका एक जना स्वास्थ्यकर्मीमाथि समूहमा आएका व्यक्तिहरूले हातपात र गालीगलौज गरेका हुन्।

गए ११ बजेको समयमा टाउको र आँखामा चोट लागेर घाइते भएका बेलौरी ५ मैनाहाका बाबुराम चौधरीको उपचारमा खटिएका अहेब नरेन्द्र प्रसाद गैरेमाथि उक्त समूहले हातपात र गालीगलौज गरेको छ। बेलौरीकै गोकुलपुर बजार बस्ने रामु भनिने रामबहादुर खड्काले घाइतेको घाउ सफाइ गरिरहेको समयमा गालीगलौज गरी घाँटी च्यापेको उनले बताए।

श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रले उपलब्ध गराएको सीसीटिभी फुटेजमा सुरक्षाकर्मीकै अगाडि मध्यरातमा ड्युटीमा रहेका स्वास्थ्यकर्मी माथि गरिएको दुर्व्यवहार देखिएको छ। फुटेजमा स्वस्थ्यकर्मीको घाँटीनै च्यापेको स्पष्ट देखिएको छ।

तर, आरोपित खड्काले भने आफ्नो घर नजिक घाइते अवस्थामा भेटिएका चौधरीलाई स्वास्थ्य केन्द्रमा पुर्‍याएको लामो समयसम्म पनि चेकजाँचमा ढिलाइ गरेको र टाँका लगाउन आवश्यक धागो समेत उपलब्ध नभएको भन्दै बाहिरबाट मगाउँदा विवाद भएको र आफूले धक्का मात्रै दिएको बताएका छन्।

यस विषयमा श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख गोविन्दबहादुर बिष्टले हातपात तथा गालीगलौच गर्ने व्यक्तिहरूलाई कानुनी कारबाहीको माग गरेका छन्।इलाका प्रहरी कार्यालय बेलौरीले भने दुवै पक्षलाई छलफलका लागि बोलाएको जनाएको छ।

clock बुधबार ०३, असोज २०८० १०:०२

प्रतिक्रिया