कैलाली जिल्ला फुटबल संघका रेफ्रीले २ वर्षदेखि पारिश्रमिक पाएनन्

  बुधबार १६, पुष २०८२ २०:१७

धनगढी । कैलाली जिल्ला फुटबल संघले लामो समयदेखि आफूहरूले सञ्चालन गरेका खेलको पारिश्रमिक नदिएको आरोप लगाउँदै रेफ्रीहरूले पत्रकार सम्मेलनमार्फत आफ्नो पीडा सार्वजनिक गरेका छन्। धनगढीमा आयोजित पत्रकार सम्मेलनमा रेफ्रीहरू दिपेन्द्र खड्का, सुसिल राना मगर, रामबहादुर कुन्जेडा र मिलन चौधरी लगायतले पछिल्ला दुई वर्षदेखि पारिश्रमिक नपाएको गुनासो गरेका हुन्। 

रेफ्रीहरूको भनाइ अनुसार उनीहरूले विभिन्न स्थानीय तथा जिल्ला स्तरीय प्रतियोगितामा कम्तीमा चारवटा खेल सञ्चालन गरेबापत पाउनुपर्ने रकम अहिलेसम्म प्राप्त गरेका छैनन्। पटक–पटक माग गर्दा पनि जिल्ला फुटबल संघले बेवास्ता गरेको उनीहरूको आरोप छ।

पत्रकार सम्मेलनमा बोल्दै रेफ्री दिपेन्द्र खड्काले कैलाली जिल्ला फुटबल संघका पदाधिकारीहरूको ध्यानाकर्षण गराउँदा पनि कुनै सुनुवाइ नभएको बताए। उनका अनुसार संघका महासचिव ललित मिश्रलाई निवेदनमार्फत औपचारिक जानकारी गराइए पनि अहिलेसम्म पारिश्रमिक उपलब्ध गराइएको छैन। 

रेफ्रीहरूको आरोप अनुसार सम्बन्धित प्रतियोगिताका आयोजक संस्थाहरूले रेफ्री खर्च बापतको रकम जिल्ला फुटबल संघलाई पहिल्यै उपलब्ध गराइसकेको भए पनि संघले उक्त रकम आफूहरूलाई नदिएको हो। यसले संघको कार्यशैलीप्रति गम्भीर प्रश्न उठाएको उनीहरूको भनाइ छ।

आफ्नो मेहनतको उचित मूल्य नपाउँदा पेशागत सम्मानमा ठेस पुगेको रेफ्रीहरूको गुनासो छ। उनीहरूले पारिश्रमिक नपाएसम्म न्याय नपाएको अनुभूति भएको भन्दै संघप्रति असन्तुष्टि व्यक्त गरे। रेफ्रीहरूले अब पनि पारिश्रमिक उपलब्ध नगराइए कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्। आवश्यक परे कैलाली जिल्ला फुटबल संघको कार्यालयमा तालाबन्दी समेत गर्ने उनीहरूको चेतावनी छ।

सम्बन्धित निकायले समयमै समस्या समाधान नगरे यसले जिल्लाको फुटबल गतिविधि र प्रतियोगिता सञ्चालनमा नकारात्मक असर पर्ने रेफ्रीहरूको भनाइ छ। उनीहरूले जिल्ला फुटबल संघलाई जिम्मेवार भएर तत्काल बक्यौता भुक्तानी गर्न आग्रह गरेका छन्।

clock बुधबार १६, पुष २०८२ २०:१७

प्रतिक्रिया