सुदूरपश्चिम सरकारमा जान रेशमलालको यस्तो ‘डिमाण्ड’

  शुक्रबार २२, असार २०८० १०:१५

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारमा रेशमलाल चौधरीको पार्टी सहभागी हुने भएको छ। टीकापुर हत्याकाण्डमा दोषी ठहर भएका तर राष्ट्रपतिबाट आममाफी पाएका चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी प्रदेश सरकारका सहभागी हुने भएको हो।

आज (बिहीबार) मात्रै सो विषयमा सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाह र रेशमलाल चौधरीसहितको बीचमा भेटवार्ता एवं छलफल भएको छ। यसअघि हिजो नै रेशमले आफूहरुले सरकारमा जाने निर्णय गरेको बताएका थिए।

सोही अनुरुप मुख्यमन्त्री शाह र भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवाले रेशमसँग वार्ता गरेका हुन्। उनीहरुले बर्दियाको ठाकुरद्वारामा संवाद गरेको बताइएको छ। उक्त वार्तामा नागरिक उन्मुक्तिका प्रवक्ता दामोदर पण्डित र प्रतिनिधि सभा क्षेत्र नम्बर ३ का सांसद गङ्गा चौधरी पनि थिए।

मुख्यमन्त्री शाहलाई नागरिक उन्मुक्तिलाई २ मन्त्री, २ समितिको सभापति र १ उपसभामुख दिन रेशमले माग गरेका थिए। जसमा लगभग सहमति भएको नाउपाका प्रवक्ता दामोदर पण्डितले जानकारी दिए। उनका अनुसार केही दिनभित्रैमा नाउपा सरकारमा सहभागी हुनेछ।

अहिले सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मन्त्रीविहीन छन्। नागरिक उन्मुक्तिलाई २ मन्त्रालय दिन मुख्यमन्त्री तयार रहेपनि मन्त्रालयको भने टुङ्गो लागिसकेको छैन।

यसअघि नागरिक उन्मुक्तिले सामाजिक विकास मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा दाबी गरेको थियो। सुदूरपश्चिममा अहिले चार वटा विषयगत समिति छन्। कुनै पनि समितिमा सभापति चयन भएको छैन।

अहिले सुदूरपश्चिम प्रदेशमा उपसभामुख एमालेकी कोइली देवी चौधरी छन्। यता मुख्यमन्त्री शाहले पहिलो चरणमा छलफल टुङ्गिएको र यस बिषयमा शीर्ष नेताहरूबाटै टुङ्गो लगाउने बताए।

कांग्रेसले नेतृत्व गरेको सुदूरपश्चिम प्रदेशमा अहिले कांग्रेससहित माओवादी र नेकपा एकीकृत समाजवादी सरकारमा छन्। मुख्यमन्त्री शाहलाई विश्वासको मत दिए पनि मन्त्रालय भागवण्डामा कुरा नमिलेपछि नागरिक उन्मुक्ति पार्टी अहिलेसम्म सरकारमा गएको थिएन। स्रोतका अनुसार नाउपाले प्रदेशसभा सदस्य रामेश्वर चौधरी र लक्ष्मण चौधरीलाई सरकारमा पठाउने तयारी गरेको छ।

clock शुक्रबार २२, असार २०८० १०:१५

प्रतिक्रिया