सुदूरपश्चिम प्रदेशसभा ध्वस्तः बैठक अनिश्चित, विधेयक अलपत्र

  आइतबार ०९, कार्तिक २०८२ ०९:५०

धनगढी । जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते सुदूरपश्चिम प्रदेशसभा भवनमा आगजनी र तोडफोड गरिएको थियो । उक्त घटनाको झण्डै डेढ महिना बितिसक्दा पनि प्रदेशसभा भवन र अन्य संरचनाको मर्मत–संभार सुरु हुन सकेको छैन । जसका कारण प्रदेशसभा बैठक अनिश्चित बनेको छ ।

क्षतिग्रस्त संरचनाको मर्मत तथा व्यवस्थापन नभएकाले वैकल्पिक स्थलको खोजी प्रदेशसभा सचिवालयले गरिरहेको छ । तर, अहिलेसम्म प्रदेशसभा भवनलाई मर्मत गरेर यही बैठक सञ्चालन गर्ने वा अन्य ठाउँ खोज्ने भन्ने विषयमा टुंगो लागेको छैन ।

बैठक सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार अभावमा तत्काल बैठक सम्भव नभएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले बताए । उनले भने, ‘प्रमुख सचिव, भौतिक तथा अर्थ मन्त्रालयका सचिवलगायत सम्बन्धित निकायबीच छलफल भएको थियो । तिहार लगत्तै बैठक बसाउने विषयमा कुरा भएको थियो, तर कहाँ बस्ने भन्ने विषयमा कुनै टुंगो छैन ।’

प्रदेशसभामा उपकरणका लागि मात्रै ४३ लाख रुपैयाँ आवश्यक पर्ने देखिएको छ । करिब ७ लाख रुपैयाँको फर्निचर र मर्मत तथा रंगरोगनका लागि २० लाख रुपैयाँको अनुमान गरिएको छ । यत्ति ठूलो रकम कसरी जोहो गर्ने भन्ने विषयमा स्पष्टता नहुँदा मर्मत तथा पुनर्निर्माण कार्य अहिलेसम्म सुरु हुन सकेको छैन ।

प्रदेशसभाको मर्मतका लागि केही दातृ निकायले पनि चासो देखाएका थिए । प्रदेशसभा सचिवालयले त्यसका लागि आधिकारिक पत्र पठाइसकेको छ, तर अहिलेसम्म दातृ निकायले बनाउने वा नबनाउने भन्ने विषयमा ठोस सहमति भएको छैन ।

‘सरकारले तत्काल बैठक बसाउने प्रबन्ध मिलाउन संसद सचिवालयलाई भने पनि सार्वजनिक खरिद ऐनका कारण पुनर्निर्माणकै लागि ३्४ महिना लाग्ने देखिन्छ,’ सूचना अधिकारी जैसी भन्छन्, ‘बाधा अड्काउ फुकाउ गर्न वा संसद सञ्चालनका लागि अन्य वैकल्पिक क्षेत्र खोज्न हामीले सरकारलाई सुझाव दिएका छौँ ।’

गत भदौ ५ गते बसेको बैठकपछि हालसम्म प्रदेशसभा बैठक बस्न सकेको छैन । अधिवेशन भने अन्त्य भएको छैन । आन्दोलनकै कारण स्थगित भएका चारवटा विधेयकमध्ये टीकापुर प्राविधिक विश्वविद्यालय सञ्चालन, बढघर भल्मन्सा सम्बन्धी र वन ऐन संशोधन विधेयकलगायतका तीन विधेयकको प्रक्रिया रोकिएको छ । ती विधेयक आगामी बैठकपछि मात्रै अघि बढ्ने सचिवालयले जनाएको छ ।

तत्काल बैठक आह्वान गर्नुपर्ने अवस्थामासमेत प्रदेशसभा भवनमै सामान्य मर्मत गरेर, प्रदेशसभा क्षेत्रमा टेन्ट टाँगेर वा धनगढीस्थित सिटी हलमा सामान्य मर्मत गरेर बैठक राख्ने विषयमा छलफल भइरहेको छ । तर, त्यसको पनि अझैसम्म टुंगो लागेको छैन ।

सभामुख भीमबहादुर भण्डारीले भवन मर्मत र आवश्यक सामग्री व्यवस्थापनका लागि छलफल भइरहेको बताए । उनका अनुसार बैठक कक्षका टेबल, कुर्सी, कम्प्युटर, ल्यापटपलगायत सम्पूर्ण सामान जलेर नष्ट भएका छन् । ‘सामग्री व्यवस्थापनपछि मात्रै बैठकका लागि वातावरण बन्नेछ,’ सभामुख भण्डारीले भने, ‘हामी पुनर्निर्माणकै छलफलमा छौँ । बस्ने ठाउँ नै नभएको हुँदा संसद बसेको छैन । छिटोभन्दा छिटो स्थान निर्माण गरेर प्रदेशसभा बैठक आह्वान हुनेछ ।’

आगलागीका क्रममा प्रदेशसभा सचिवालय, विषयगत समितिका कार्यालय र दलका कक्षहरूमा समेत तोडफोड र आगजनी भएको थियो । सचिवालयका विवरणअनुसार करिब १२ करोड रुपैयाँ बराबरको भौतिक क्षति पुगेको छ । पाँचवटा मोटरसाइकल र सातवटा गाडी जलेका छन् । सचिवको कार्यकक्ष, लेखा शाखा र जिन्सी शाखामा सबैभन्दा बढी क्षति भएको छ ।

हाल सचिवालयका कर्मचारीहरू अस्थायी रूपमा एउटै कक्षमा बसेर काम गरिरहेका छन् । लेखा र जिन्सी शाखाका सबै भौतिक कागजात र श्रेस्ता जलेर नष्ट भए पनि प्रविधिमा सुरक्षित रहेका आर्थिक र प्रशासनिक डाटा प्रयोगमा ल्याइएका छन् ।

clock आइतबार ०९, कार्तिक २०८२ ०९:५०

प्रतिक्रिया