सेती अस्पतालमा नि:सन्तान उपचार केन्द्र सञ्चालन, साढे ७ हजारमै सेवा पाइने

  शनिबार ३१, जेठ २०८२ ०७:०७

धनगढी । सेती प्रादेशिक अस्पतालले सुदूरपश्चिम प्रदेशमै पहिलोपटक नि:सन्तान उपचार केन्द्र स्थापना गरेर सेवा सञ्चालनमा ल्याएको छ ।

प्रादेशिक अस्पतालले स्थापना गरेको नि:सन्तान उपचार केन्द्रको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हेमराज पाण्डेले शुक्रबार उद्घाटन गरेका छन् ।

केन्द्रको उद्घाटन गर्दै मेसु पाण्डेले संघीय र प्रदेश सरकारको सहयोगमा स्थापना गरिएको बताए ।

उनले गत वर्ष नै नि:सन्तान उपचार केन्द्र सञ्चालन गर्ने तयारी भएपनि केही प्राविधिक समस्याले हुन नसकेको बताए ।

सुदूरपश्चिम प्रदेशमा सेवाको अभावका कारण नि:सन्तान दम्पतीहरू उपचारका लागि काठमाडौं तथा भारत जाने गरेकोमा अब उक्त बाध्यता अन्त्य भएको बताउँदै सहज र सुलम रूपमा धनगढीमै सेवा लिन सकिने बताए ।

प्रादेशिक अस्पतालको स्त्री तथा प्रसुती रोग विभाग प्रमुख डाक्टर विशेषज्ञ डाक्टर खगेन्द्र भट्टले नि:सन्तानपन सम्बन्धि समस्याका विभिन्न किसिमका उपचार पद्धति रहेको बताउँदै अहिले आधारभूत तहको आईयुआई सेवा सुचारू गरिएको बताए ।

नि:सन्तान सम्बन्धि कुनै पनि सेवा उपलब्ध नभएको अवस्थामा सञ्चालन गरिएको आईयुआईबाट नि:सन्तानपन भएका दम्पतीले लाभ लिन सक्ने उनी बताउँछन् ।

उक्त सेवा अन्तरगत पुरूष र महिलाको समान्य स्तरको प्रजनन सम्बन्धि परीक्षण र परामर्श, पुरूषको विर्य विश्लेषण तथा तयारी, सस्तो, सुलभ, सहज र गोपनिय रूपमा सेवा प्राप्त गर्न सक्ने बताए ।

भट्टले यो सेवाको सुरूवात सुदूरपश्चिमकै महत्त्वपूर्ण उपलब्धि भएको बताउँदै भविष्यमा थप सेवा विस्तार गर्न सकिने बताए ।

उनकाअनुसार प्रादेशिक अस्पतालले नि:सन्तान भएका दम्पतीलाई साढे ७ हजारको प्याकेजमा उपचार पाउनेछन् ।

विश्वव्यापी रूपमा १० देखि १५ प्रतिशतमा दम्पतीहरू बाँझोपनको समस्याबाट प्रभावित रहेकोमा नेपालमा १३ देखि १५ प्रतिशत दम्पती यो समस्याबाट प्रभावित हुने अनुमान गरिएको छ ।

बाँझोपनको समस्या महिला र पुरूष दुवैमा हुने चिकित्सक बताउँछन् ।

clock शनिबार ३१, जेठ २०८२ ०७:०७

प्रतिक्रिया