सेती अस्पतालको अधुरो भवन:  ८ वर्षसम्म पनि अपूर्णै, स्वास्थ्य सेवामा गम्भीर असर

  शुक्रबार १०, असोज २०८२ ०८:२४

धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा नयाँ भवन निर्माण सुरु भएको आठ वर्ष पुग्न लाग्दा पनि काम अझै अधुरो छ । २०७४ साल कार्तिक २८ गते धनगढीको रविना–थेगिम जेभी नामक निर्माण कम्पनीसँग १८ करोड ७४ लाख २८ हजार ५२९ रुपैयाँ ६५ पैसामा ठेक्का सम्झौता गरिएको थियो । सम्झौता अनुसार २०७७ साल बैशाख २७ गतेभित्र निर्माण सम्पन्न गर्नुपर्ने भए पनि हालसम्म काम सकिएको छैन ।

पटक–पटक म्याद थप, काम अधुरै

निर्माण कम्पनीले तोकिएको समयमै भवन नबनाएपछि ठेक्का म्याद पटक–पटक लम्ब्याइएको छ । तर, दोब्बर भन्दा बढी समय पाएको भए पनि काम पूरा हुन सकेको छैन । कम्पनीले सम्झौता उल्लंघन गर्दै निर्माण ढिलाइ गरेपछि पेनाल्टी तिर्दै आएको बताइन्छ, तर भवनको काम भने उल्लेखनीय प्रगति हुन सकेको छैन । सुदूरपश्चिम प्रदेशकै प्रमुख रेफरल अस्पतालका रूपमा परिचित सेती अस्पतालमा भवन नबन्नुका कारण सेवा विस्तारमा ठुलो समस्या भएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। हेमराज पाण्डेयका अनुसार भवनको अभावले नयाँ सेवा सुरु गर्न र विद्यमान सेवा विस्तार गर्न अस्पताल असमर्थ छ । “नयाँ भवन समयमै बनेको भए आज धेरै नयाँ स्वास्थ्य सेवा सञ्चालन गर्न सकिन्थ्यो, तर संरचना अभावका कारण हामी बाध्य भएर सेवा विस्तार रोकेका छौँ,” उहाँले बताउनुभयो ।

८ वर्षको प्रतीक्षा, अझै अनिश्चितता

भवन निर्माण सुरु भएको यतिका वर्ष बित्दा पनि काम सम्पन्न नहुँदा स्थानीय बिरामी र सेवाग्राहीलाई समस्या भइरहेको छ । अस्पतालले बहिरङ्ग सेवा, आकस्मिक उपचार, तथा विशेष सेवा विस्तार गर्ने योजना बनाएको भए पनि भवन अभावका कारण योजना कागजमै सीमित भएको छ । सेती अस्पतालको नयाँ भवन निर्माणमा देखिएको ढिलाइले स्वास्थ्य पूर्वाधार विस्तारमा मात्र नभई सिंगो प्रदेशकै स्वास्थ्य सेवामा प्रत्यक्ष असर परेको छ । प्रदेशकै प्रमुख अस्पतालमा भवन अधुरो हुँदा हजारौं बिरामीले गुणस्तरीय सेवा लिन नपाउने अवस्था सिर्जना भएको छ । अब निर्माण कम्पनीलाई थप कारबाही गर्ने वा वैकल्पिक उपाय अपनाउने निर्णय तत्काल नलिइए, यसले दीर्घकालीन रूपमा सुदूरपश्चिमको स्वास्थ्य क्षेत्रमा गम्भीर समस्या निम्त्याउने देखिन्छ ।

अस्पतालको सामाजिक इकाइ, ओपीडी, भिडिओ ए–क्सरे, स्वास्थ्य बीमा, सिटि स्क्यान लगायतका सेवा निर्माणधिन भवनबाट दिन थालिएको छ । तर, स्थान अभावका कारण सेवा विस्तार र ओपिडी सेवामा समस्या हुने गरेको छ । ओपीडि सेवाका लागि अस्पताल आउने बिरामीका लागि उक्त क्षेत्रमा स्थान अभाव देखिएको हो । अस्पतालले सेवा थप्ने योजना बनाएपनि भवन नभएकाले सेवा विस्तार र सञ्चालनमा समस्या हुने गरेको छ । विशेष गरेर ओपिडी, भिडिओ एक्सरे, सिटीस्क्यान, एमआरआइ सेवामा समस्या हुने गरेको छ।’ जसका कारण सेवाग्राहीलाई समस्या हुने गरेको छ ।

निर्माण कम्पनिले निरन्तर काम गरे एक महिनाभित्रै सम्पन्न गर्न सक्ने अस्पतालले जनाएको छ । तर अस्पतालको सेवा प्रबाहमै समस्या हुने गरी भवन निर्माण कार्य अलपत्र छोडिएपछि सेवाग्राहीले समेत आक्रोस पोखेका छन् । पटक पटक म्याद थप गर्दा समेत भवनको निर्माण सम्पन्न नभएको भन्दै अब अलपत्र छोड्ने निर्माण कम्पनि सगंको ठेक्का तोड्नुपर्नेमा सेवाग्राहीको जोड छ । सेवाग्राही प्रसान्त थापाले भवन अलपत्र छोड्ने ठेकेदारको ठेक्का तोड्नुको बिकल्प नरहेको बताए । यत्तिका बर्षसम्म अस्पतालको भवन अलपत्र छोडेर कयौँ बिरामीको स्वास्थ्य माथी खेलवाड गरेको भन्दै उनले ठेक्का तोड्नुका साथै ठेकेदार माथी कार्वाहीको माग गरे ।

clock शुक्रबार १०, असोज २०८२ ०८:२४

प्रतिक्रिया