मायामेट्रो हस्पिटलले अछाममा आयोजना गरेको स्वास्थ्य शिविरमा सयौंले लिए निःशुल्क सेवा
धनगढी । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालयको आयोजना, स्वास्थ्य कार्यालय अछामको समन्वयमा मायामेट्रो हस्पिटलको सहकार्यमा धनगढीस्थित मायामेट्रो हस्पिटलले अछाम जिल्लाको दुर्गम क्षेत्रहरूमा पुगेर आयोजना गरेको दुई दिवसीय विशेषज्ञ स्वास्थ्य शिविरमार्फत सयौं नागरिकलाई निःशुल्क सेवा प्रदान गरेको छ।
स्वास्थ्य शिविर बैशाख २६ गते र २८ गते सम्पन्न भएको हो। बैशाख २६ गते चौरपाटी गाउँपालिकामा सम्पन्न शिविरमा २८६ जनाले सेवा लिएका थिए, जसमध्ये २१५ जना महिला र ७१ जना पुरुष थिए। सोही प्रकार, बैशाख २८ आईतबार ढकारी गाउँपालिकामा आयोजित शिविरमा ७८६ जनाले स्वास्थ्य सेवा लिएका छन्।
शिविरमा महिलामा बढी देखिने स्त्रीरोग, पुरुषहरूमा लुकेको स्वास्थ्य समस्या, मानसिक स्वास्थ्य, मुटु, हाडजोर्नी, नसा र अन्य रोगहरूको जाँच तथा परामर्श दिइएको थियो। शिविरमा धेरैले रोग लुकाएर बसिरहेको र समयमा उपचार नपाएर समस्या बढिरहेको अवस्थामा यस्ता कार्यक्रमहरूले राहत पुर्याएको देखिएको छ।
उक्त शिविर सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय डोटीको आयोजना, स्वास्थ्य कार्यालय अछामको समन्वय, चौरपाटी र ढकारी गाउँपालिकाको सहयोग तथा मायामेट्रो हस्पिटलको सहकार्यमा आयोजना गरिएको हो।
मायामेट्रो हस्पिटलका अध्यक्ष धिरेन्द्र साउदले भने, “हामीले सेवा मात्रै होइन, मानवताको भावना बोकेर स्वास्थ्य सेवा दुर्गमसम्म पुर्याउने प्रयास गरेका छौं। हाम्रो उद्देश्य अस्पतालको प्रमोशनभन्दा पनि जनताको पहुँचमा गुणस्तरीय सेवा पुर्याउनु हो।”
उनले आगामी दिनमा पनि यस्ता शिविरलाई निरन्तरता दिने प्रतिवद्धता जनाएका छन्। साउदले थपे, “अस्पतालको प्रमोशन भन्दा पनि हामी समुदायको साथमा उभिन चाहन्छौं। हामी यसैगरी आगामी दिनमा पनि गाउँगाउँमा पुगेर स्वास्थ्य सेवा पुर्याउनेछौं।”
शिविरले दुर्गम बासिन्दाको स्वास्थ्यमा सचेतना मात्र नभई तत्काल राहत समेत पुर्याएको छ। स्थानीयवासीहरूले यस्ता सेवा अझ धेरै गाउँहरूमा पुगोस् भन्ने आशा व्यक्त गरेका छन्।
प्रतिक्रिया