साइन नेपालद्वारा डोटीका दुई स्वास्थ्य चौकीलाई १७ लाख बराबरको सामग्री हस्तान्तरण

  मङ्गलबार २६, चैत २०८१ ११:३३

डोटी । मानवीय सेवामा अनेकौँ परियास (साइन नेपाल) नामक गैरसरकारी संस्थाको केयर एण्ड रिलिफ सिएआर–२२ परियोजना अन्तर्गत डोटीका आदर्श गाउँपालिका र सायल गाउँपालिकाका स्वास्थ्य संस्थामा ल्याब स्थापना गरिएको छ ।

परियोजनामार्फत ल्याबका लागि चाहिने सामग्री तथा उपकरण सहयोग गरिएको छ । यसरी सामग्री सहयोग भएपछि बिरामीहरूले घण्टौँ लगाएर महँगो मूल्य तिरेर टाढा जानु पर्ने बाध्यात्मक अवस्थाको अन्त्य भएको आदर्श गाउँपालिका वडा न ६ का वडा अध्यक्ष लालबहादुर खडायतले बताए ।

जिल्लाको दुर्गम बस्तीमा रहेको आदर्श गाउँपालिका  वडा नम्बर ६ को गिरिचौका स्वास्थ्य चौकी र सायल स्वास्थ्य चौकी लाई १७ लाख बराबरको विभिन्न रोग परीक्षणका लागि उपयोगी मेसिनहरू हस्तान्तरण गरेको संस्थाका अध्यक्ष भक्त राज जोशीले बताए । 

दुर्गम वस्तिबाट सामान्य रोगको चेकजाँचका लागि अझै पनि सदरमुकाम पुग्नु पर्छ । त्यसका लागि हजारौँ खर्च गर्नु पर्ने बाध्यात्मक अवस्थालाई रोक्नका लागि सहयोग होस भन्ने हेतुले उक्त सामग्री हस्तान्तरण गरिएको  उनले बताए ।

सामाग्री बुझ्दै आदर्श गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी रोकायाले संस्थाले गर्दै आएको सहयोगका लागि धन्यवाद दिइन् । त्यस्तै सायल गाउँपालिकाका अध्यक्ष धर्मराज जोशीले संस्थाले गरेको ठुलो सहयोग प्रति धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोगको अपेक्षा रहेको बताए । 

बाजागाजासहित स्वागत गरिएको उक्त कार्यक्रम औपचारिक रूपमा सम्पन्न भएको थियो । कार्यक्रममा स्वास्थ्यकर्मी, स्वयंसेविका, अभिभावक,  जनप्रतिनिधि, पत्रकार लगायतको सहभागितामा सामग्री हस्तान्तरण गरिएको थियो ।

clock मङ्गलबार २६, चैत २०८१ ११:३३

प्रतिक्रिया