देशकै उत्कृष्टमा परेको बैतडी अस्पतालको अंक घट्यो
बैतडी । विगतमा देशकै उत्कृष्टमा गनिएको बैतडी जिल्ला अस्पतालको न्यूनतम स्वास्थ्य सेवा मापदण्डमा यसवर्ष गिरावट आएको छ । गएको वर्ष ९३ अंक हासिल गरेको अस्पतालले यसपटक चार अंक गुमाएर ८९ मा सीमित भएको छ ।
जिल्ला अस्पताल बैतडीका सूचना अधिकारी हरिशप्रसाद पन्तका अनुसार अस्पतालमा जनरल फिजिसियन डाक्टरको अभावले अंक घटेको हो। उनले अन्य सेवामा सुधार भए पनि व्यवस्थापन समितिको म्याद सकिनु र आवश्यक चिकित्सकको नहुँदा मूल्याङ्कनमा असर परेको बताए ।
यसवर्ष चैत दोस्रो साता मात्र स्वास्थ्य सेवा मापदण्डको मूल्याङ्कन गरिएको थियो, जुन नियमित समयभन्दा ढिलो भयो । अस्पतालको सेवा, भौतिक संरचना, व्यवस्थापनलगायतका आधारमा मूल्याङ्कन गरिने भए पनि व्यवस्थापन समितिको म्याद सकिनुले सेवा सुधारमा चुनौती थपिएको छ ।
हाल १५ शय्याको दरबन्दी भएको बैतडी अस्पतालले करिब ५० शय्याको सेवा दिइरहेको छ। सरकारले ५० शय्याको दरबन्दी स्वीकृत गरेमा सेवा प्रवाहमा गुणस्तर वृद्धि हुने पन्तको भनाइ छ ।
अस्पताल व्यवस्थापन समिति पुनर्गठनको विषयमा सत्ता साझेदार नेपाली कांग्रेस र एमालेबीच विवाद देखिएको छ । दुबै दलले अध्यक्ष पदका लागि दाबी गरिरहेकाले भागवण्डाका आधारमा समिति गठन हुने सम्भावना रहेको छ ।
प्रतिक्रिया