दार्चुलामा गाउँमै पुगेर उपचार गर्दै स्वास्थ्यकर्मी
दार्चुला । दार्चुलामा गाउँमा भाइरल ज्वरोका बिरामी बढ्दा दार्चुलाका स्वास्थ्यकर्मी गाउँमै पुगेर उपचार गर्न थालेका छन्। दार्चुलाको मालिकार्जुन र दुहु गाउँपालिकाका स्वास्थ्यकर्मीले गाउँबस्तीमै पुगेर उपचार तथा परामर्श सेवा थालेका हुन्। मालिकार्जुन गाउँपालिका–५ मल्तडीमा भाइरल ज्वरो फैलिदाँ स्वास्थ्यकर्मीले गाउँमै पुगेर उपचार गरेका हुन्।
दलितको बाहुल्य रहेको मल्तडी बस्तीमा पस्ती आधारभूत अस्पतालका डाक्टर निराजन बोहरा नेतृत्वको टोलीले उपचार गरेको हो। उनीहरूले बिरामीलाई परामर्श सेवा तथा स्वास्थ्य जाँच गरेका छन्। मौसममा आएको परिवर्तनले अहिले बिरामी गाउँभरि बढेको पाइएपछि गाउमै उपचार थालिएको पस्ती आधारभूत अस्पतालका जनस्वास्थ्य निरीक्षक रामसिंह खत्रीले जानकारी दिए।
“तीन–चार दिनदेखि गाउँमा भाइरल ज्वरो फैलिएको खबर पाएपछि बस्तीमै उपचार गर्न गएका हौँ”, उनले भने, “गाउँभरिका एक सय २२ जनाको स्वास्थ्य जाँच गरिएको छ।” बिरामीमा ज्वरो आउने, खोकी लाग्ने, हातखुट्टा दुख्नेलगायत लक्षण देखिएको उनले बताए। बिरामीलाई गाउँमै उपचारसँगै औषधि वितरण गरिएको छ।
वडामा डाँडाकोट स्वास्थ्यचौकी भए पनि पालिका तहबाट विशेषज्ञसहितको उपचार गरिएको हो। यसैगरी दुहु गाउँपालिका–२ ले गाउँमा एक सातादेखि भाइरल ज्वरो फैलिएको भन्दै बस्तीस्तरमै सेवा दिने भएको छ। हिकिला स्वास्थ्यचौकीले चैत ७ देखि चैत १२ गतेसम्म सबै बस्तीमा पुगेर जाँच, परामर्श सेवा तथा उपचार र औषधि वितरण गर्ने स्वास्थ्यचौकी प्रमुख जनस्वास्थ्य निरीक्षक मोहनसिंह धामीले जानकारी दिए।
अहिले जिल्लाका विभिन्न क्षेत्रमा भाइरल ज्वरो, रूघाखोकी, दम, निमोनिया, झाडापखाला, टाउको दुख्ने तथा श्वासप्रश्वाससम्बन्धी समस्या भएका बिरामीको चाप जिल्ला अस्पतालमा समेत बढेको डाक्टर सञ्जीव श्रेष्ठले बताए। उनले भने, “दिनहुँ भाइरल ज्वरोका बिरामी बढेका छन्। ठाउँ अभावमा उपचार गराउनै समस्या हुने अवस्था आएको छ।”
जिल्ला अस्पताल दार्चुलामा दैनिक दुई दर्जनभन्दा बढी भाइरल ज्वरोका बिरामी उपचारका लागि आउने गरेका छन्। यसबाट प्रभावित हुनेमा सबैभन्दा बढी बालबालिका र वृद्धवृद्धा रहेको सम्बन्धित स्थानीय तहका स्वास्थ्य शाखाले जनाएका छन।् बालबालिकालाई विशेष सावधानी अपनाउन आग्रह गर्दै स्वास्थ्य समस्याबाट जोगिन पर्याप्त मात्रामा पानी पिउने, भिडभाडबाट टाढा रहने, मास्क लगाउने र सरसफाइमा ध्यान दिन स्वास्थ्यकर्मीले सुझाव दिएका छन्। रासस
 
                     
                                 
                         
                                         
                                         
                                             
                                             
                                     
                                             
                                             
                                     
                                     
                                     
                                     
                                     
                                             
                         
                         
                         
                         
                         
                         
                         
                        
प्रतिक्रिया