स्वस्तिक अस्पतालमा निःशुल्क ओपिडि स्वास्थ्य शिविर सम्पन्न, १५३ जनाले लिए सेवा

  आइतबार २५, फागुन २०८१ ०७:३१

धनगढी । अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर धनगढी उप-महानगरपालिका-३, सहिद गेटस्थित स्वस्तिक अस्पतालद्वारा आयोजित निःशुल्क ओपीडी स्वास्थ्य शिविर आज सफलतापूर्वक सम्पन्न भएको छ। शिविरमा १५३ जना सेवा ग्राहीहरू ले विशेषज्ञ चिकित्सकहरूसँग परामर्श तथा स्वास्थ्य परीक्षण गराएका छन्। विशेषगरी पाठेघर, छाती, पेट, मिर्गौला, हाड जोर्नी, नाक, कान, घाँटी लगायतका रोगहरू सम्बन्धी विशेषज्ञ सेवा प्रदान गरिएको थियो।

शिविरमा महिला तथा प्रसूति रोग विशेषज्ञ डा. अञ्जना काफ्ले, जनरल फिजिसियन डा. सुनिल पाण्डे, मिर्गौला तथा मूत्र प्रणाली रोग विशेषज्ञ डा. जोनस तिवारी, मेरुदण्ड तथा हाड जोर्नी रोग विशेषज्ञ डा. उत्सव श्रेष्ठ, जनरल तथा ल्याप्रोस्कोपिक शल्य चिकित्सक डा। राजीव चौधरी, नाक, कान, घाँटी रोग विशेषज्ञ डा. ज्ञान राज अर्याल, तथा रेडियोडायग्नोसिस विशेषज्ञ डा. रिहा ढुंगेल लगायतका अनुभवी चिकित्सकहरूको सहभागिता रहेको थियो।

निःशुल्क ओपीडी सेवा का साथै भिडियो एक्स–रे तथा ल्याब परीक्षणमा ५० प्रतिशत छुट दिइएको थियो। साथै, चेकजाँच गराएका बिरामीहरूको अपरेशनमा विशेष छुटको व्यवस्था गरिएको अस्पतालले जनाएको छ। स्वास्थ्य सेवामा महिला लक्षित विशेष प्राथमिकता दिँदै आयोजना गरिएको यो शिविरलाई सेवाग्राहीहरूले उत्साहपूर्वक ग्रहण गरेका थिए।

सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्का र धनगढी उप-महानगरपालिकाकी उप-प्रमुख कन्दकला कुमारी रानाले पनि महिला स्वास्थ्यलाई प्रवर्द्धन गर्ने यस्ता कार्यक्रमहरू आवश्यक रहेको बताउँदै स्वस्तिक अस्पताललाई धन्यवाद ज्ञापन गरेका थिए ।

शिविर सफलतापूर्वक सम्पन्न भएकोमा स्वस्तिक अस्पतालका अध्यक्ष दिपेन्द्र तिवारीले सेवाग्राहीहरू, चिकित्सक टोली तथा सहयोगीहरूलाई आभार व्यक्त गरेका छन्। उनले आगामी दिनमा पनि यस्ता स्वास्थ्य शिविरहरू निरन्तर आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

clock आइतबार २५, फागुन २०८१ ०७:३१

प्रतिक्रिया