कृष्णपुरमा नागरिक सगं मेयर कार्यक्रम, अब घरदैलोमै स्वास्थ्य जाचँ
धनगढी । कृष्णपुर नगरपालिकाले ‘नागरिकसँग मेयर’ कार्यक्रम अन्तर्गत नसर्ने रोग पहिचान तथा उपचार अभियान सुरु गरेको छ। २०७९/०८० मा पहिलो संस्करण, २०८०/०८१ मा दोस्रो संस्करण सफलतापूर्वक सम्पन्न गरेपछि यस वर्ष २०८१/०८२ को तेस्रो संस्करण आजबाट औपचारिक रूपमा उद्घाटन गरिएको हो।
नगर प्रमुख हेमराज ओझा, उप–प्रमुख द्रोपती राना, स्वास्थ्य शाखा प्रमुख रतन विष्ट, प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र प्रसाद भट्ट तथा अन्य जनप्रतिनिधिहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भयो। स्वास्थ्य शाखा प्रमुख विष्टका अनुसार यसअघि ५० हजार नागरिकलाई स्वास्थ्य सेवा प्रदान गरिएको थियो, भने यो संस्करणमा ७५ हजार जनसङ्ख्या रहेको नगरपालिकाभित्रका सबै बासिन्दालाई समेट्ने लक्ष्य राखिएको छ।
यस अभियानमा मधुमेह, उच्च रक्तचाप, मृगौला रोगजस्ता नसर्ने रोगहरूको पहिचान गरी समयमै उपचार प्रदान गरिनेछ। नागरिकहरूले रगतमा चिनीको मात्रा परीक्षण, रक्तचाप मापन, मृगौला रोग जाँच, शरीर तौल र उचाइका आधारमा द्यःक्ष् मापन गर्न सक्नेछन्। यसका साथै, आवश्यक परे घरदैलोमै पुगेर स्वास्थ्य परामर्श र उपचार सेवा प्रदान गरिनेछ।
कार्यक्रममा नगर प्रमुख हेमराज ओझाले जनताको स्वास्थ्य, शिक्षा, सरसफाइ र रोजगारी जस्ता प्रमुख समस्याहरूलाई समाधान गर्न नगरपालिका कटिबद्ध रहेको बताए। “नागरिकहरूको समस्या बुझ्न हामी गाउँ९गाउँ पुग्नेछौँ। स्वास्थ्य सेवामा सुधार ल्याएर सबैलाई सहज पहुँच दिलाउने हाम्रो प्रमुख लक्ष्य हो,” उनले भने। ओझाले नगरपालिकाभित्रका असहाय, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरूलाई प्राथमिकताका साथ सेवा प्रदान गरिने जानकारी दिए।
नगर उप–प्रमुख द्रोपती रानाले नगरपालिकाले महिलाहरू, सुत्केरी आमा तथा बालबालिकाको स्वास्थ्य सुरक्षालाई विशेष ध्यान दिएको बताइन्। “स्वास्थ्य मात्रै होइन, महिला सशक्तीकरण, स्वरोजगार र बालबालिकाको शिक्षामा पनि नगरपालिका सक्रिय रूपमा काम गरिरहेको छ,” उनले भनिन्। रानाले गाउँ बस्तीमा महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई थप सक्रिय बनाइने र घरदैलोमा स्वास्थ्य सेवा पुर्याउने योजना अघि बढाइएको जानकारी दिइन्।
नगर प्रमुख र उप–प्रमुखले नागरिकहरूलाई स्वास्थ्य अभियानमा सहभागी भई निःशुल्क परीक्षण तथा उपचारको लाभ लिन आग्रह गरेका छन्। नगरपालिका स्तरबाट यस किसिमको स्वास्थ्य अभियान सञ्चालन हुँदा स्थानीय बासिन्दाले समयमै स्वास्थ्य परीक्षण गराउन सक्ने भएकाले अभियान प्रभावकारी हुने विश्वास गरिएको छ। आयोजक कृष्णपुर नगरपालिका तथा नगर कार्यपालिकाको कार्यालयले जनताको स्वास्थ्य सुधारका लागि निरन्तर पहल गर्दै जाने प्रतिबद्धता जनाएको छ।
 
                     
                                 
                         
                                         
                                         
                                             
                                             
                                     
                                             
                                             
                                     
                                     
                                     
                                     
                                     
                                             
                         
                         
                         
                         
                         
                         
                         
                        
प्रतिक्रिया