कञ्चनपुरको शुक्लाफाँटामा निःशुल्क आँखा शिविर
कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ९ मा सञ्चालित निःशुल्क आँखा शिविरबाट दुई सय १७ जना लाभान्वित भएका छन् । वडा कार्यालयको आर्थिक सहयोगमा तथा धनगढी नेत्रालयको प्राविधिक सहयोगमा आँखा शिविर सञ्चालन गरिएको हो ।
आँखासम्बन्धी रोगको परीक्षण तथा उपचारका लागि आयोजना गरिएको शिविरमा पुगेका १० महिला र १३ पुरूषमा मोतियाविन्दुको समस्या देखिएको छ । शिविरमा आँखा जाँचका क्रममा मोतियाविन्दु भएका बिरामीको निःशुल्क रूपमा शल्यक्रिया गर्ने व्यवस्था गरिएको शुक्लाफाँटा– ९ वडाध्यक्ष रमेशबहादुर ऐरले बताए ।
मोतियाविन्दु भएका बिरामीको धनगढी नेत्रालयले निःशुल्क रूपमा शल्यक्रिया गर्ने छ । शल्यक्रियाका लागि छनौट भएका बिरामीलाई धनगढीसम्म जान एकतर्फी गाडी भाडा उपलब्ध गराइने छ भने बिरामीलाई औषधि र चश्मा निःशुल्क उपलब्ध गराउने सम्झौता रहेको वडाध्यक्ष ऐरले बताए ।
शिविरमा आँखा उपचारका लागि पुगेका मध्ये ३२ जनालाई निःशुल्क रूपमा चस्मा उपलब्ध गराइएको छ । अन्य बिरामीलाई निःशुल्क रूपमा औषधि र आवश्यक परामर्श दिने कार्य गरिएको छ ।
वडा कार्यालयले विगत ६ वर्षदेखि निरन्तर रूपमा निःशुल्क रूपमा आँखा शिविर आयोजना गरी वडाका बासिन्दालाई आँखासम्बन्धी सेवा दिँदै आएको छ । हालसम्म वडाका छ सय बढी आँखामा मोतियाविन्दु भएका बिरामीको निःशुल्क शल्यक्रिया गरिएको वडाध्यक्ष ऐरले बताए ।
प्रतिक्रिया