नेकपाबाट पत्रकार हर्क सिह प्रपाला (हरिष) समानुपातिक तर्फ सिफारिस
धनगढी । प्रेस सेन्टर नेपालका केन्द्रीय उपमहासचिव हर्क सिंह प्रपाला (हरिष) लाई नेपाली कम्युनिष्ट पार्टी (नेकपा) कैलालीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि कैलाली निर्वाचन क्षेत्र नं. ५ बाट समानुपातिकतर्फ उम्मेदवारका रूपमा सिफारिस गरेको छ ।
नेकपा कैलालीका अनुसार प्रपालालाई अल्पसंख्यक तथा लोपोन्मुख क्लस्टर अन्तर्गत समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्यले समानुपातिक उम्मेदवारका रूपमा सिफारिस गरिएको हो । पार्टीले जिल्लाका सबै निर्वाचन क्षेत्रबाट प्रत्यक्ष तथा समानुपातिकतर्फ आकांक्षा व्यक्त गरेका नेताहरूको अन्तिम नाम टुंग्याउँदै केन्द्रमा सिफारिस गरेको जनाएको छ ।
यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै देशभरका राजनीतिक दलहरूले उम्मेदवार छनोट तथा सिफारिसको कार्य तीव्र गतिमा अघि बढाइरहेका छन् । सोही क्रममा नेकपा कैलालीले समेत संगठनात्मक मापदण्ड, समावेशीता र राजनीतिक योगदानको आधारमा उम्मेदवार सिफारिस गरेको पार्टीको भनाइ छ ।
समानुपातिक उम्मेदवारका रूपमा सिफारिस भएपछि प्रतिक्रिया दिँदै उनले पार्टीले आफ्नो लामो राजनीतिक र पत्रकारितासम्बन्धी योगदानको मूल्यांकन गर्दै जिम्मेवारी दिएकोमा सम्पूर्ण नेतृत्वप्रति आभार व्यक्त गरेका छन् ।
उनले कम्युनिष्ट आन्दोलनको ऐतिहासिक विरासतलाई जोगाउँदै सुशासन, सामाजिक न्याय र विकाससँग जोडेर आफ्नो भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन् । उनले भ्रष्टाचारविरुद्ध दृढतापूर्वक उभिने र सुशासनका पक्षमा निरन्तर आवाज बुलन्द गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
पत्रकारिता र संघर्षको पृष्ठभूमि
हर्क सिंह प्रपाला ९हरिष० ले आफ्नो राजनीतिक यात्रा तत्कालीन नेकपा माओवादी निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) बाट सुरु गरेका हुन् । परिवर्तनमुखी राजनीति र जनपक्षीय विचारलाई आत्मसात गर्दै उनी लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय छन् ।
पछिल्ला करिब दुई दशकदेखि पत्रकारिता क्षेत्रमा निरन्तर क्रियाशील प्रपालाले करिब १७ वर्षदेखि एभिन्युज टेलिभिजन सुदूरपश्चिम ब्युरोमार्फत सञ्चार क्षेत्रमा उल्लेखनीय योगदान दिँदै आएका छन् । उनी नेकपा माओवादी निकट प्रेस सेन्टर कैलालीका पूर्व अध्यक्ष हुन् भने हाल प्रेस सेन्टर नेपालका केन्द्रीय उपमहासचिवको जिम्मेवारीमा कार्यरत छन् ।
अन्याय, अत्याचार र विभेदविरुद्ध सशक्त आवाज उठाउँदै आएका प्रपाला लोकतान्त्रिक व्यवस्था, समावेशी प्रतिनिधित्व र सामाजिक न्यायको पक्षमा दृढतापूर्वक उभिने व्यक्तित्वका रूपमा परिचित छन् ।
पत्रकारिता र राजनीतिक सक्रियतासँगै उनी सामाजिक सेवाका क्षेत्रमा समेत निरन्तर सक्रिय रहँदै आएका छन् । उनको उम्मेदवारी सिफारिसलाई समावेशी लोकतन्त्रको सुदृढीकरण, अल्पसंख्यक समुदायको प्रतिनिधित्व र जनआवाजको सम्मानका रूपमा हेरिएको छ ।
प्रतिक्रिया