देशभर आजदेखि क्यान्सरविरुद्धको एचपीभी खोप अभियान सुरु
काठमाडौं । सरकारले पाठेघर मुखको क्यान्सर नियन्त्रण गर्ने उद्देश्यले आजदेखि देशभर एचपीभी खोप अभियान सुरु गरेको छ । यो अभियान अगामी १५ दिन (फागुन ६ गते) सम्म सञ्चालनमा आउनेछ ।
यो अभियानमा देशभरका विद्यालयका कक्षा ६ देखि १० सम्मका र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार ७६८ किशोरीलाई खोप दिइनेछ ।
स्वास्थ्य सेवा विभाग अन्तर्गतका बाल स्वास्थ्य तथा खोप शाखाका अनुसार १८ हजार विद्यालय र ८ हजार स्वास्थ्य संस्थामा खोप केन्द्रको रूपमा तोकिएको छ ।
यसका लागि २७ हजार स्वास्थ्यकर्मी र ५४ हजार स्वयंसेवक परिचालन गरिएको छ । सरकारले १ अर्ब ३० करोड रुपैयाँ लगानी गरी १७ लाख ७० हजार २० डोज खोप लगाउँदै छ । यो खोप स्थानीय विद्यालय र नजिकको स्वास्थ्य संस्थामा लगाउने पाउने सुविधा उपलब्ध गराइएको छ ।
यो खोप सन् २०३० सम्ममा कम्तीमा पनि ९० प्रतिशत किशोरीलाई लगाउने लक्ष्य राखिएको छ । आगामी सन् २०३० सम्ममा पाठेघर मुखको क्यान्सर निर्मूल पार्न ९०ः९०ः९० को योजना छ । यो भनेको ९० प्रतिशतलाई खोप लगाउने, ९० प्रतिशतको स्क्रिनिङ गर्ने र ९० प्रतिशतको सफल उपचार गरिने सरकारी अधिकारीले बताएका छन् ।
प्रतिक्रिया