शुक्लाफाँटा नगरपालिकाद्वारा ‘एमबिबिएस’ अध्ययनका लागि वार्षिक १० लाख छात्रवृत्ति प्रदान

  शनिबार १९, पुष २०८२ ०७:३५

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले चिकित्सा शिक्षा आयोगद्वारा सञ्चालन गरिएको एकीकृत प्रवेश परीक्षा उत्तीर्ण गरेका जेहेन्दार विद्यार्थी पुष्पराज भट्टलाई एमबीबीएस अध्ययनका लागि शुक्रबार छात्रवृत्ति प्रदान गरेको छ।

नगरपालिकाको १८५औँ कार्यपालिका बैठकले शुक्लाफाँटा नगरपालिका–७ निवासी भट्टलाई एमबीबीएस छात्रवृत्ति दिने निर्णय अनुरूप छात्रवृत्ति उपलब्ध गराइएको नगर प्रवक्ता लालबहादुर ऐरले जानकारी दिए। कार्यविधिअनुसार नगरपालिकाले भट्टलाई अध्ययन अवधिभर प्रत्येक वर्ष १० लाखका दरले छात्रवृत्ति उपलब्ध गराउनेछ।

नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख टिकेन्द्रराज भट्टका अनुसार ‘एमबीबीएस अध्ययन छात्रवृत्तिसम्बन्धी कार्यविधि–२०८०’ बमोजिम आवेदन आह्वान गरिएकामा योग्यता क्रमका आधारमा पुष्पराजलाई छनौट गरिएको हो। “नगरभित्र बसोबास गर्ने सामुदायिक विद्यालयमा अध्ययन गरेका गरिब तथा विपन्न तर जेहेन्दार विद्यार्थीलाई चिकित्सक बनाउने उद्देश्यले यो कार्यक्रम ल्याइएको हो,” उनले भने।

छात्रवृत्ति प्राप्त गरेपछि विद्यार्थीले अध्ययन पूरा गरी दक्ष चिकित्सक बनेर नगरपालिकाले तोकेको स्वास्थ्य संस्थामा अनिवार्य रूपमा चार वर्ष सेवा गर्नुपर्ने सर्त राखिएको छ। नगरपालिकाले आफ्नै नगरस्तरमा दक्ष चिकित्सक उत्पादन गरी नगरवासीलाई गुणस्तरीय र दिगो स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य राखेको छ।

छात्रवृत्ति पाएका पुष्पराजले नगरपालिकाको कसरौलस्थित बैजनाथ माध्यमिक विद्यालयबाट माध्यमिक शिक्षा परीक्षा ९एसईइ० उत्तीर्ण गरेका थिए। चिकित्सा शिक्षा आयोगको एकीकृत प्रवेश परीक्षामा उनी २५०८औँ योग्यता क्रममा छनोट भएका हुन् । उनले पोखरास्थित मणिपाल कलेज अफ मेडिकल साइन्सेजमा अध्ययन गर्ने तयारी गरेका छन्।

आफ्नो चिकित्सक बन्ने सपनामा नगरपालिकाले आर्थिक सहयोग गरेपछि पुष्पराजले खुसी व्यक्त गरे। “आर्थिक अवस्थाका कारण मेरो परिवारका लागि एमबीबीएस अध्ययन निकै चुनौतीपूर्ण थियो, नगरपालिकाको यो सहयोगले मेरो सपना साकार हुने भएको छ,” उनले भने, “अध्ययन पूरा गरेर आफ्नै नगरका नागरिकको सेवामा समर्पित हुनेछु।”

clock शनिबार १९, पुष २०८२ ०७:३५

प्रतिक्रिया