अंश र माना चामल नलिनेगरी गायिका एलिना चौहानले गरिन् सम्बन्ध बिच्छेदको मुद्दा दर्ता
काठमाडौं । गायिका एलिना चौहानले पति बिष्णु सापकोटासँग सम्बन्ध बिच्छेदको मुद्दा दर्ता गराउनु भएको छ । गायिका चौहानले अंश र माना चामल नलिनेगरी पति बिष्णु सापकोटासँग सम्बन्ध बिच्छेदको मुद्दा दर्ता गराउनु भएको हो ।
चौहानले आज काठमाडौं जिल्ला अदालतमा वारेसमार्फत मुद्दा दर्ता गराउनु भएको हो ।
दर्ता गराइएको फिरादमा गायिका चौहानले पति सापकोटाले आफ्नो चरित्रमाथि शंका गरेको र पति पत्नीको रुपमा सम्बन्ध सुमधुर हुन नसकेको जिकिर गर्नुभएको छ । फिरादमा गायिका चौहानले श्रीमानले मानसिक तनाव दिएको उल्लेख छ ।
आफू कलाकारिताको क्षेत्रमा काम गर्ने भएकोले कार्यक्रममा सहभागी हुन जाँदा कहिले काहीं केही अबेरसम्म पनि बस्नु पर्ने हुँदा बिपक्षी पति सापकोटाले आफूमाथि अनेक शंका उपशंका गर्ने गरेको फिराद दाबीमा उल्लेख छ ।
'बिपक्षी पतिले कार्यक्रमको बिचमा नै फोन गरेर तुरुन्त घरमा आइज भनी मलाई मेरो काममा समय दिन पनि बाधा पुर्याउने गर्दा मनमुटाव हुने भइरहन्थ्यो, त्यस्तैमा तीन महिनाको बसाई पछि म नेपाल फर्किएँ' फिरादमा भनिएको छ, 'नेपाल फर्किएपछि पनि म कलाकारिताको क्षेत्रमा हुने बिभिन्न कार्यक्रमहरुमा ब्यस्त हुँदा निज बिपक्षीले मेरो चरित्रमाथि शंका उपशंकाको दृष्टिले हेरी अनेक लाञ्छना लगाउँदा मलाई मानसिक कष्ट भएको हुँदा हामी दुई बिचको बैबाहीक सम्बन्ध सुमधुर रहेर अगाडी बढ्न नसक्ने देखी म फिरादी र विपक्षी पति बिच भावनात्मक रुपमा सुमधुर सम्बन्ध कहिल्यै हुन नसकी कागजी रुपमा मात्र रहेको पति पत्नीको सम्बन्धमा रहनु बस्नु भन्दा मुलुकी देवानी कार्यबिधी संहिता, २०७४को दफा ९५ (ग) का आधारमा सम्बन्ध विच्छेद गरी स्वतन्त्र भै आ-आफ्नो जिवन बिताउन श्रेयष्कर लागेको निज बिपक्षीबाट अंश तथा माना चामल नलिने गरी यो फिरादपत्र लिइ सम्मानीत अदालत समक्ष उपस्थित भएकी छु '।
बागलुङका विष्णुसँग गायिका चौहानको गत वैशाख ५ गते मात्र विवाह भएको थियो । विष्णु अस्ट्रेलियामा व्यवसाय गर्दै आउनु भएको छ ।
विवाहपछि पतिसँगै अस्ट्रेलिया जानुभएको गायिका एलिना केही महिना अघि नेपाल फर्किनुभएको थियो ।
प्रतिक्रिया