पहिलोपटक ब्यान्डसहित सुदूरपश्चिम महोत्सवमा प्रमोद खरेल
धनगढी । गायक प्रमोद खरेलले पहिलो पटक सुदूरपश्चिमको धनगढीमा पहिलो पटक ब्यान्डसहित प्रस्तुती दिने भएका छन्। कैलाली उद्योग वाणिज्य संघको आयोजनामा कैलालीको धनगढीमा चलिरहेको सुदूरपश्चिम महोत्सव २०८२ मा खरेलको प्रमोद खरेल एन्ड परम्परा ब्यान्डले प्रस्तुती दिन लागेको हो।
शुक्रबार धनगढीमा चलिरहेको महोत्सवमा प्रमोद खरेल एन्ड परम्परा ब्यान्डको भव्य प्रस्तुती रहेको आयोजकले जनाएको छ। धनगढी लगायत सुदूरपश्चिमका विभिन्न ठाउँमा आयोजना हुँदै आएका महोत्सवमा मुख्य आकर्षक कलाकारका रूपमा विगतदेखि नै खरेल सहभागी हुँदै आएका छन्।
यसपटक त झन उनी ब्यान्डसहित प्रस्तुती दिन लागेका हुन। कैलाली उद्योग वाणिज्य संघले विगत १९ वर्षदेखि आयोजना गर्दै आएको महोत्सव सुदूरपश्चिम क्षेत्रमै सबैभन्दा आकर्षक हुने गरेको छ। एकल गायन मार्फत् देशभित्र र बाहिर प्रस्तुती दिँदै आइरहेका सुमधुरका धनी गायक खरेल केहीवर्ष देखि ब्यान्डसहित प्रस्तुती दिन थालेका हुन।
‘परम्परा’ ब्यान्डको माग अहिले देशभित्र र बाहिर उतिक्कै बढिरहेको छ। धनगढीमा हरेक वर्ष खरेलको गायनमा झुम्मिन ठूलो संख्यामा दर्शकहरू आउने गर्थे। यसपटक ब्यान्डसहितको प्रस्तुती थप आकर्षक र भव्य हुने आयोजकले पनि अपेक्षा गरेको छ।
“विगतमा एकल रूपमा प्रस्तुती दिँदा पनि दर्शकले सहयोग गर्दै आउनुभएको थियो। केहीवर्षदेखि ब्यान्डसहितको प्रस्तुतीलाई दर्शकले थप माया गरिदिनुभएको छ,”गायक खरेल भन्छन्,“यसलाई हामी थप भव्य र सभ्य बनाएरै लगिरहेका छौं। पछिल्लो समय हरेक कार्यक्रममा ब्यान्डसहितको प्रस्तुतीका लागि आयोजकले आग्रह गर्दै आउनुभएको छ।”
ब्यान्डसहितको प्रस्तुतीमा गायक खरेलले पुराना र नयाँ गरी दुवै खालका चर्चित गीत पस्किँदै आएका छन्। गायक खरेलले देशभित्र होस वा बाहिर प्रस्तुती दिँदा ‘म बिना कसै–कसैलाई मुस्किल छ पोखरामा’, हंगामा भो कसम हंगामा भो, यो कुरा गोप्य नै राखौंला, ओए झुमा–झुमा झुम्कावाली गीत दर्शकहरूको मुख्य प्राथमिकतामा पर्ने गर्छन्। यस बाहेक अन्य थुप्रैं चर्चित गीत गायक खरेलले प्रस्तुती दिँदै आएका छन्।
प्रतिक्रिया