बाजुराको हिमाली पालिका पाँच महिनादेखि अन्धकार

  सोमबार २९, मङि्सर २०८२ १०:५०

बाजुरा  । बाजुराको पूर्वी उत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिका विगत पाँच महिनादेखि अन्धकार बन्दै गएको छ । २०७८ साल फागुनमा कवाडी लघुजलविद्युत परियोजनाले एक सय किलोवाट बत्ती उत्पादन गरी यहाँका एक हजार एक सय घरधुरीमा बत्ती बालेको थियो ।

गत साउन २८ गते राति विच्छ्या खोलामा आएको बाढीले सो विद्युतको नहर सबै बगाई दिएपछि अहिले यो पालिका विगत पाँच महिनादेखि अन्धकार बन्दै गएको हो । बाढीले यहाँका स्थानीयले प्रयोग गर्दै आएका खानेपानी, सडक र अन्य भौतिक पूर्वाधारहरु समेत भत्किएका थिए ।

पालिकाले दुई महिनामा त्यसैलाई पुनः मर्मत गरेर स्थानीयलाई सहज गर्दै आएको भए पनि बत्ती बाल्न भने रकम ठुलो चाहिएकाले अहिलेसम्म मर्मत गर्न नसक्दा पालिका विगत पाँच महिनादेखि अन्धकारमय बन्दै गएको हिमाली गाउँपालिकाले जनाएको छ ।

बिजुलीको नहरमा ठुलो क्षति भएको छ । त्यसलाई मर्मत गर्दा जति पहिला निर्माण गर्दा लागेको थियो अहिले त्यो भन्दाबढी रकम लाग्ने भएपछि बिजुली मर्मत गर्न निकै समस्या भएको हिमाली गाउँपालिका अध्यक्ष गोविन्दबहादुर मल्लले बताउनुभयो ।

उहाँले भन्नुभयो, “बत्ती नहुँदा अहिले यहाँका स्थानीयलाई विद्युतीय सेवाबाट प्रदान गरिने काम कार्यमा समस्या भएको छ । बत्ती पुनः मर्मत गर्न रकम नभएकाले पालिकाले प्रदेश र सङ्घीय सरकारसँग रकमको माग गर्दै आएका छौं । तर अहिलेसम्म कतैबाट आर्थिक सहयोग प्राप्त भएको छैन ।”

हिमाली गाउँपालिका जिल्लाकै एक विकट पालिका हो । २०७५ साल देखि हामीले यहाँका स्थानीयको शिक्षा स्वास्थ्य खानेपानी बाटोको सुविधा गर्दै आएका थियौं । पछिल्लो सयम यहाँका स्थानीयले यस्तो दुर्गम ठाउँमा पनि सुगमको महसुस गर्दै आएको थिए ।

तर गत साउन २८ गते  विच्छ्या खोलामा आएको बाढीपहिरोले हामीले गरेका ती सबै विकास निर्माणका काम कार्यमा ठुलो क्षति भएपछि अहिले पालिकालाई पुनर्निर्माण गर्न निकै सकस परेको अध्यक्ष मल्लले बताउनुभयो । 

clock सोमबार २९, मङि्सर २०८२ १०:५०

प्रतिक्रिया