इलाम नगरपालिकाका मेयरको चर्चा भन्दा आलोचना बढी , जनप्रतिनिधि नै सन्तुष्ट छैनन् नगर प्रति

  शुक्रबार ११, माघ २०८१ ०६:४७

काठमाडौ । नेपालको संविधान २०७२ को घोषणासँगै नेपालले औपचारिक रूपमा संघीय लोकतान्त्रिक गणतन्त्रको यात्रा प्रारम्भ गर्यो । जसले १ संघीय सरकारसहित, ७ प्रदेश र ७ सय ५३ वटा स्थानीय तहको निर्माण गर्यो । झण्डै २ सय ५० वर्ष केन्द्रिकृत एकात्मक शासन व्यवस्थामा रहँदै आएको मुलुकमा शासकीय संरचना बदलिँदा अहिले एकैपटक झण्डै ८ सय ठाउँबाट शासन अभ्यासको प्रारम्भ भएको छ । 

संघीय सरकार र प्रदेश सरकारको तर्फबाट स्थानीय तहका सरकारहरुलाई हेर्ने र सम्बन्ध कायम गर्ने विषयमा राजनीतिक दृष्टिकोणका कारणले समतामुलक व्यवहार कायम नभएको धेरै स्थानीय तहका जनप्रतिनिधिहरुको गुनासो छ । जसका कारणले स्थानीय तहहरुमा सम्भाव्यताको आधारमा समतामुलक विकासको आधार तयार हुन नसकेको यथार्थ नतिजा नै सचित्र रूपमा देख्न सकिन्छ । 

भौगोलिक विविधता, असमान पहुँच र निराशामुखी राजनीतिका बीच सयौं मध्ये केही स्थानीय तहहरुले भने उपलब्ध स्रोत र जनशक्तिको परिचालन गरि दिगो एवं द्रुत विकास र व्यवस्थापनको आधार तयार गरेको देख्न सकिन्छ । जसमध्ये इलामको इलाम नगरपालिकाले पनि आफुलाई योजना निर्माण, शहरी व्यवस्थापन र सुशासनमा अब्बल रहेको दाबी गर्दै आएको छ । हुन पनि हो इलाम नगरपालिका स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकन (एफआरए) मा देशभरकै पहिलो भएको भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको आर्थिक वर्ष २०७९/०८० को मूल्यांकनमा ९९ प्रतिशत सूचांकसहित इलाम नगर पहिलो भएको थियो । 

तर गफ बढि काम थोर गर्ने अवधारणामा अगाडि बढिरहेको इलाम नगरपालिका प्रती जनप्रतिनिधि नै असन्तुष्ट रहेको देखिन्छ्न । इलाम नगरपालिकाले जुन रुपमा बिकास निर्माण सहित अन्य क्षेत्रमा गति लिनुपर्ने हो त्यो अनुरुप प्रतिफल देखाउन सकेको छैन । यस्को उदाहरणका रुपमा जनप्रतिनिधिले नै सामाजिक संजालमा नगर प्रती प्रश्न गरिरहेएको देख्न सक्छौ । 

जनप्रतिनिधि नै असन्तुष्ट रहेको इलाम नगरपालिका संग स्थानीय झनै असन्तुष्ट रहेका देखिन्छन् । नगरपालिका हाकिरहेका प्रमुखले काम भन्दा पनि गफ बडि गर्ने गरेको भन्दै स्थानीय असन्तुष्ट रहदै आएका छन । इलामका एक स्थानीय सामाजिक संजालमा नगरपालिका छेउकै भत्किएको सिडिको फोटोमा व्यंग्य गर्दै लेखेका छन 'यस्तै छ है हजुर नगरपालिकाको छेवैको हाम्रो नयाँ पदमार्ग ' । 

नगरपालिका निर्माण गर्ने कुरामा आवश्यक गतिमा पालिकाले कामको नेतृत्व गर्न नसकेको स्थानीयहरुले बताउदै आएका छन ।  त्यस्तै नयाँ नेतृत्व आएर बितेका दुई वर्षमा पालिका नेतृत्वले प्रदेश र संघ सरकार सँग समन्वय गरेर काम गर्न नसकेको नगर बासीको भनाई छ । नगरपालिकाको चौतर्फी बिकास बनाउने कार्यमा संघीय सरकार र प्रदेश सरकार पनि रहेकोले पालिका एक्लैको पहलमा त्यो काम सम्भव पनि नहुने भएकाले संघीय र प्रदेश सरकारसँग समन्वय गरेर काम गर्ने क्षमतामा पालिका चुकेको स्थानीयहरु बताउछन  । 

सुचना प्रविधिलगायत केही क्षेत्रमा कामको प्रगति भएको देखिएता पनि जनताले अनुभूती गर्ने स्तरमा काम नभएको इलाम नगरबासीको गुनासो छ । इलाम नगर क्षेत्रको विकासमा निर्वाचन अगाडिको अवस्थामा सबै राजनीतिक दल र सम्बन्धित क्षेत्रका सबै मानिसहरु मिलेर काम गर्ने वातावरण र भावना भएकोमा अहिले त्यस्तो अवस्थालाई स्थानीय सरकारले कायम राख्न सकेको छैन् । जनप्रतिनिधिहरु सानो–सानो काममा भूल्ने तर शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, आदिलगायतको क्षेत्रमा अपेक्षा गरिए अनुरूप काम गर्न नसकेको देकिन्छ । विभिन्न उद्योगको स्थापना, अस्पताल निर्माण, औद्योगिक क्षेत्र निर्माण, सडक निर्माणलगायत धेरै क्षेत्रमा आवश्यक वातावरण भएतापनि नगर सरकारले समयमा नै सबै क्षेत्रसँग समन्वय गरि नतिजामुखी ढंगले काम गर्न सकेको छैन् । तथ्यांकमा भनिएजस्तो व्यवहारमा काम नभएकाले नगर सरकारसँग जनता निराश मात्र भएका छैनन् वाक्क दिक्क बनेका छन । 

इलाम नगरपालिका इलाम सदरमुकाममा छ । सदरमुकाम भएकै कारण नगरपालिका जिल्लावासीकै केन्द्रका रुपमा छ । यहाँ रहेका विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयको काममा समेत जिल्लावासी आउजाउ गरिरहन्छन् । इलाम नगरपालिकामा खानेपानीको समस्या सधैँ चर्चामा हुन्छ । यसबारे पछिल्लो समय समयमा पेचिलो बन्दै गएको छ । 

कतै पानी नै नआउने, कतै प्रयोग गरेको भन्दा धेरै गुणा महशुल आउने गरेको गुनासो व्याप्त छ । नगरपालिकाले सबै नगरबासीलाई खानेपानी सहज रुपमा पुर्याउन सकेको मात्र छैन यस बारे हरहिसाब समेत जनता सामु सार्वजनिक गर्न सकेको छैन । 

यस्तै नगरपालिकामै रहेको सुकिलुम्बा विमानस्थल समेत सुनसान छ । नगर प्रमुखमा निर्वाचित भए लगत्तै केदार थापाले निक्कै तामझामका साथ बिमानस्थल मेरै पहलमा सन्चालनमा ल्याएको भन्दै प्रचार गरेपनी अहिले बिमानस्थलमा जहाज चल्न त परैको कुरा खाली बिमानस्थल हेर्नै सम्म पुग्नै पनि समस्या छ ।  यता हेर्दै मन्त्रालय जस्तै देखिने नगरको सुबिधा सम्पन्न भवन छ । वडाका भवनहरु समेत काम गर्न सकिने खालकै छन् । तर कामको गति कछुवा गतिमा झै देखिन्छ । 

यति मात्र हैन नगरको आधिकारिक फेसबुक पेजमा समेत जनताले आफ्नो राय ,सुझाव र प्रतिक्रिया राख्ने मौका बाट समेत इलाम नगर बासीलाई बन्चित गरेको छ । नगरले आफुले आलोचना खेप्ने पोस्टहरुमा कमेन्ट गर्ने स्थान बन्द गरेको छ भने आफुले बधा थाप्ने पोस्टमा मात्र कमेन्ट गर्ने ब्यबस्था मिलाएको छ । यस बाट पनि प्रष्ट छ कि नगरले जुन गतिमा गर्नुपर्ने काम हो त्यो गतिमा गर्न नसकिरहेको । जस्मा कारण आलोचना हुने डरले कमेन्ट गर्ने ठाउँ नै बन्द गरिदिएको छ । 

अहिले नगरपालिकामा प्रष्ट बहुमत पाएको नेपाली काँग्रेस पार्टीकै धेरै नेता कार्यकर्ताले सामाजिक सञ्जाल मार्फत खानेपानी आपूर्तिमा भएको अनियमितता र निर्माण कार्यबारे तिक्तता पोखेका मात्र छैनन् कि नगरको काम प्रती नै प्रश्न तेर्साई रहेका छन । 

यतिमात्र होइन नगर प्रमुख केदार थापा खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष रहेकै बेला नगर प्रमुखमा निर्वाचित भएका तिए तर  उनी हालसम्म पनि खानेपानी उपभोक्ता समितिको अध्यक्ष छन् । तर खानेपानी सन्चालको जिम्मा भने आय ब्याय सार्बजनिक नै नगरी सुटुक्क नगरपालिकामा सरेका छन । यस्मा पनि नगरबासीले  प्रस्न राखिरहेका छन तर प्रश्नको जवाफ अहिले सम्म पाउन सकेका छैनन् । 

वडामा हुने सामान्य कार्यक्रम देखि टोल टोलमा हुने साना तिना कार्यक्रममा प्रमुख अतिथी बनेर बन्नै पर्ने मेयर थापाले योजना बनाएर समृद्ध नगर बनाउन पहल गर्नुपर्ने स्थानीयको माग छ । नगरलाई समृद्ध बनाउन सम्बन्धित मन्त्रालयबाट बजेट माग गरेर अघि बढ्न सकियो भने मात्र नगरलाई समद्ध बनाउन सकिन्छ । नियमित आउने बजेटको मात्र पर्खाइमा रहँदा नगर समृद्ध बन्न सक्दैन । विस्तृत आयोजना प्रतिवेदनका लागि (डीपीआर) सर्भे गरेर सम्बन्धित मन्त्रालय तथा निकायमा आवश्यक बजेट माग गरेर काम अघि बढाउन आवश्यक रहेको इलाम नगरबासी बताउछन ।
 

clock शुक्रबार ११, माघ २०८१ ०६:४७

प्रतिक्रिया