सेतीलाई गेटा विश्वविद्यालयमा गाभ्न सुदूरपश्चिम सरकारको प्रस्ताव

  बिहिबार २०, मङि्सर २०८१ १५:२५

धनगढी । कैलालीको सेती प्रादेशिक अस्पताललाई गेटा विश्वविद्यालयमा गाभ्न सुदूरपश्चिम सरकारले प्रस्ताव गरेको छ। सेतीलाई दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय, गेटामा गाभ्न प्रदेश सरकारले प्रस्ताव गरेको हो।

चिकित्सा शिक्षा र विशिष्टीकृत स्वास्थ्य सेवा सुचारुका लागि सुदूरपश्चिम प्रदेश सरकार मातहतमा रहेको अस्पताललाई सङ्घीय सरकारमा फिर्ता पठाउने प्रस्ताव गरिएको छ। चाँडो चिकित्सा शिक्षाको पठनपाठन गर्न कानुनी समस्या रहेको दाबी गरिएका बेला प्रदेश सरकारले सञ्चालनमा रहेको सेती अस्पताल सङ्घीय सरकारलाई फिर्ता गर्न तयार रहेको बताएको हो। सुदूरपश्चिम प्रदेश सरकारले सङ्घीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पत्राचार गरेको छ भने, प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि मुख्यमन्त्री कमलबहादुर शाहले छलफल गरेका छन।

विश्वविद्यालयमा चिकित्सा शिक्षा र विशिष्टीकृत स्वास्थ्य सेवा सुचारुका लागि प्रधानमन्त्री ओली, पूर्व प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, परराष्ट्रमन्त्री आरजु राणा ९देउवा०, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेल लगायतसँग छलफल भएको मुख्यमन्त्री शाहले बताए। उनले भने, ‘सेतीलाई संघमा हस्तान्तरण गर्ने। गेटा विश्वविद्यालय सुरु गर्ने। सेवा विस्ता गर्न स्वास्थ्य मन्त्रालयमा पत्राचार गरेको छु। पहिलो चरणमा स्वास्थ्यमन्त्री र परराष्ट्रमन्त्रीसँग छलफल गरे। दोस्रो चरणमा प्रधानमन्त्री ज्यू र पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा ज्यूसँग पनि छलफल गरेको छु।’

चिकित्सा शिक्षा ऐनमा चिकित्सा शिक्षा पढाइ र अभ्यासका लागि कम्तीमा तीन सय शय्याको अस्पताल आवश्यक हुन्छ। अस्पताल सञ्चालनको तीन वर्षपछि मात्र अध्ययनको अनुमति मिल्छ। गेटा अस्पतालले हाल ५० शय्या सञ्चालनको मात्र अनुमति पाएको छ । सेती अस्पताल विस १९९७ सालबाट सञ्चालनमा रहेको छ। सेती अस्पताल हाल २७५ शय्यामा सञ्चालनमा रहेको सेती विश्व विद्यालयमा गाभ्ने र विश्वविद्यालयको सेवा सुरु गर्न प्रस्तान गरेको मुख्यमन्त्री शाहले बताए। उनले भने, ‘गेटामा सेवा विस्तार गर्ने र चिकित्सा शिक्षा अध्ययनको काम सुरु गर्ने कुरा भएको छ। संघले सेतीलाई लियो भने, सेवा पनि राम्रो हुन्छ। हामी त्यो प्रक्रियामा अगाडी बढेका छौ। तर, अन्तिम भएको छैन।’ विश्वविद्यालयमा पठनपाठन थालिहाल्न प्रादेशिक अस्पताललाई अभ्यासका लागि प्रयोग गर्न सकिने प्रदेश सरकारको प्रस्ताव छ।

सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयसम्बन्धी विधेयक प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन छ। २०८० असोज १९ मा संसद्मा दर्ता भएको यो विधेयक राष्ट्रिय सभाले २०८० माघ १९ मा पारित गरेको थियो। गेटामा विशिष्टीकृत स्वास्थ्य सेवा सञ्चालनका प्रदेश सरकारले संघ सरकारलाई हारगुहार गरेको हो।

गेटा अस्पतालमा २०८० कात्तिक १ गतेबाट ओपीडी सेवा सुरु भएको थियो। गत साउन ३२ गतेदेखि अन्तरङ्ग ९इन्डोर० सेवा पनि सुरु गरिएको छ। अस्पतालमा बिरामीको सङ्ख्या न्यून रहेको छ। २०७९ माघ २९ गतेको मन्त्रीपरिषद्ले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो।

clock बिहिबार २०, मङि्सर २०८१ १५:२५

प्रतिक्रिया